• १४ माघ २०८१, सोमबार

बहुप्रतिभाशाली दीर्घबाहु

blog

माघ ३ गते एकाबिहानै सामाजिक सञ्जालमा खबर आयो, श्रीधर खनाल बिते । केही समयदेखि उहाँ एकप्रकारले गुप्तबास जस्तै हुनुहुन्थ्यो, काठमाडौँको जयवागेश्वरीमा । कुनै कार्यक्रममा उहाँलाई बोलाइन्नथ्यो । उहाँ पनि कार्यक्रममा जाने गरेको देखिएको थिएन । पछिल्लो समय उहाँले के लेख्नुभयो वा लेख्नुभएन, त्यो पनि थाहा भएन । स्वास्थ्यले दुःख दिएर हुन सक्छ, बाहिर न सशरीर न त कृतिगत रूपमा नै देखा पर्नुभयो । लामो समय उहाँसँगको सङ्गत छुट्यो । २० को दशकमा उहाँसँग धेरै नै भेटघाट हुन्थ्यो । अझ झन्डै ३० को दशकमा पनि सरसङ्गत नजिकिएको थियो । श्रीधर मभन्दा १६ वर्ष जेठा भए पनि मित्रकै व्यवहार गर्नुहुन्थ्यो । हुन त हास्यव्यङ्ग्यको नवग्रहमा सबभन्दा काँचो म नै थिएँ तापनि सबैसँग मित्रवत् व्यवहारले हामी सबै निर्धक्क कुरा गर्थ्यौं र ठट्टा रमाइलो पनि चल्थ्यो । मित्रमण्डलीमा वासुदेव लुइटेल, दाताराम शर्मा, श्रीधर खनाल, केशवराज पिँडाली, भैरव अर्याल, टेकवीर मुखिया र श्याम गोतामे बेलाबखत भेटिरहन्थ्यौँ । यो भेटले नै २०३० सालमा सभागृहमा पहिलो पटक हास्यव्यङ्ग्य सम्मेलन सम्भव भयो । श्रीधर खनालले उद्घोषणको काम गर्नुभएको थियो । श्रीधर खनाल हास्यव्यङ्ग्य निबन्धबाट उदाउनुभएको थियो । उहाँले २०२० सालमै ‘नमरी संसार देखिन्न’ रमाइलो पुस्तक लेख्नुभएको थियो । त्यो बेला यति रसिलो पुस्तक कमै आएका थिए । हुन त कृष्णप्रसाद चापागायीले २००८ सालमा ‘रसवरि चम चम’ र केशवराज पिँडालीले २०१७ सालमा ‘खै खै’ र भैरव अर्यालले २०१९ मा हास्यव्यङ्ग्य पुस्तकहरू ल्याइसक्नुभएको थियो । यसै लहरमा जोडिन आउनुभएको थियो, श्रीधर खनाल । रामकुमार पाँडेको ‘ख्याल ख्याल’ (२०२३), ‘खप्पर’ (२०२५) र श्याम गोतामेको ‘मपाइँ’ (२०२६) मा प्रकाशित हुँदै गएपछि नेपाली हास्यव्यङ्ग्यमा बलियो जग बस्दै गयो ।             

श्रीधर खनाल नेपाली साहित्यमा एउटा युग हाँकेका विशाल व्यक्तित्व हुनुहुन्थ्यो । विसं १९८८ मङ्सिर ३ मा काठमाडौँको त्रिपुरेश्वरमा जन्मिएका श्रीधरले स्नातकसम्म शिक्षा लिनुभएको थियो । श्रीधरको प्रतिभाबाट हास्यव्यङ्ग्य, जासुसी उपन्यास, पत्रकारिता, चलचित्र र शिक्षा सेवाले लाभ लिएको देखिन्छ ।  

विसं २०२० सालमा पहिलो पुस्तक ‘नमरी  संसार देखिन्न’ प्रकाशित गरी श्रीधर  खनाल  साहित्यमा उदाउनुभएको हो । यो निबन्ध कृतिले उहाँलाई नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा स्थापित हुन सघायो । त्यसपछि उहाँको ‘चट्याङ चुटुङ’ सङ्ग्रह धेरैपछि २०५७ सालमा निस्केको थियो । उहाँले अर्को हास्यव्यङ्ग्य कृतिचाहिँ बालमुकुन्ददेव पाण्डेसँग मिलेर लेख्नुभएको थियो । यो कृति विभिन्न व्यक्तित्वको हास्यात्मक चित्रण बहिरवार्ताका रूपमा अत्यन्त हास्यात्मक रहेको छ । ‘उल्लिबिल्ली’ नाम दिइएको यो सङ्कलनमा नेपाली हास्यव्यङ्ग्यको उत्कृष्ट शैली प्रस्तुत गरिएको छ । 

उहाँले हास्यव्यङ्ग्यमा प्यारोडी पनि रचना गर्नुभएको छ । श्रीधर खनाल ठट्टा गर्न पनि सिपालु र रसिक हुनुहुन्थ्यो । उहाँ हास्यव्यङ्ग्य भनेर हास्यास्पद लेख्ने धेरै आए भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “हास्यकार अरूलाई हँसाएर आफूचाहिँ रुने व्यक्ति हो ।” 

बहुप्रतिभाका धनी भएकै कारण आफ्नो प्रतिभालाई विविध साहित्यका क्षेत्रमा लगाउनुभएका खनालको दोस्रो योगदानको क्षेत्र उपन्यास पनि उल्लेख्य रहेको छ । उहाँले थुप्रै जासुसी उपन्यास लेख्नुभयो । उहाँको समयमा फाट्टफुट्ट दुईचार जनाले जासुसी उपन्यास लेखे पनि उहाँलाई त्यस क्षेत्रमा जित्ने कोही निस्किएको देखिन्न । उहाँको पछिल्लो जासुसी उपन्यासपछि आजसम्म झन्डै २४–२५ वर्ष हुँदा पनि यो रूपको जासुसी उपन्यास आएको देखिएको छैन । उहाँले ३०–३२ वर्षसम्म कलम तिखार्दै झन्डै डेढ दर्जन उपन्यास लेख्नुभएको पाइन्छ । उहाँले जुन समयमा जासुसी उपन्यास लेख्नुभयो, त्यो समय गजबको थियो । उहाँको एउटा जासुसी उपन्यास निस्केपछि अर्को उपन्यासको तीव्र प्रतीक्षामा हुन्थे पाठक । खोजी खोजी पढ्थे । उहाँको नक्कली नाम जासुसी उपन्यासमा ‘दीर्घबाहु’ थियो । यो नाम कसको होला भन्ने कसैलाई थाहा थिएन । आफ्ना दर्जनाँै जासुसी उपन्यास प्रकाशन हुँदै जाँदा उहाँ उत्साहित हुनुभयो । थुप्रै जासुसी उपन्यासले नेपाली साहित्यमा एउटा छुट्टै ठाउँ बनाउन उहाँले राम्रो योगदान गर्नुभएको पाइन्छ । उहाँका जासुसी उपन्यासमा ‘शब्दभेदी लडाइँ’ २०२० सालमा प्रकाशित भएको थियो । यसपछि २०२४ सालमा ‘मुर्कट्टा लास’, ‘विषालु इच्छापत्र’ २०२५ मा, यसै साल ‘मेजरको सर्प’ प्रकाशित भएको पाइन्छ । ‘बाह्रबजेको घण्टी’ जासुसी उपन्यास २०२६ सालमा प्रकाशित भएको थियो । ‘छ औँले मान्छे’ पनि यसै साल निस्कियो । उहाँको जासुसी उपन्यास एकदम उत्साह जगाउने, कौतूहलपूर्ण भएकै कारण बजारमा व्याप्त बनेको थियो । उहाँले यही सफलताकै कारण रहस्यमय जासुसी उपन्यास क्रमशः प्रकाशित हुँदै गए । उहाँले ‘पानको गुलाम’ (२०२७), 

‘नाङ्गिएकी सुन्दरी’ (२०२९), ‘डा. डेमोण्ड’ (२०२९), गजब गजबका लेख्नुभयो । ‘हङकङको व्यापारी’ (२०३०), ‘गुलाफी पिन’ (२०३०), ‘हेलम्बुकी अप्सरा’, ‘वज्रजोगिनी’ खजाना (२०३०) एकै साल तीन वटा प्रकाशन भएका थिए । ‘अनन्त यात्रा’ (२०५६), ‘भेनसका हिप्पीहरू’ आदि जासुसी र अन्य सामाजिक उपन्यास रचेको पाइन्छ । 

श्रीधर खनालको अर्को आयाम चलचित्र पनि हो । उहाँले चलचित्रमा कलाकार, निर्देशक, गीतकार भएर निकै काम गर्नुभएको छ । उहाँले ‘माइतीघर’ चलचित्रमा संवाद लेख्नुभएको थियो । ‘हिजो आज भोलि’ मा उहाँ कलाकार हुनुहुन्थ्यो । कथा, संवाद, स्व्रिmप्ट लेखनमा श्रीधरले सघाउनुभएको थियो । ‘मनको बाँध’ को कथा उहाँकै थियो । ‘हिजो आज भोलि’ चलचित्रको त कथा, गीत उहाँले नै रच्नुभएको थियो । उहाँले यसमा निर्देशन सहयोगी हुँदै अभिनयसमेत गर्नुभएको थियो । उहाँले थुप्रै वृत्तचित्रमा पनि काम गर्नुभएको थियो । 

श्रीधर कुशल सम्पादक पनि हुनुहुन्थ्यो । उहाँको सम्पादनमा ‘रमिता’ पाक्षिक मनोरञ्जनात्मक पत्रिका एवं ‘प्रतिध्वनि’ र ‘संरक्षण’ साप्ताहिक त्यसबेला चर्चित थिए । श्रीधरले विश्वामित्रको नाममा यौनकथा पनि रच्नुभएको थियो । रमेशनाथ पाण्डेले सम्पादन गर्नुहुने ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पातोमा यो पाठकको आकर्षक स्तम्भ मानिन्थ्यो । उहाँ जे लेख्नुहुन्थ्यो, त्यो निर्धक्कसाथ लेख्नुहुन्थ्यो । ब्रजेश खनाल र छ सुपुत्रीका पिता खनाल ऊर्जावान् हुनुहुन्थ्यो । उहाँ प्रायः मोटरसाइकलमा कुद्नुहुन्थ्यो । सबैतिर काम भ्याउनुहुन्थ्यो । नयाँ नयाँ प्रयोगकै कारण उहाँ बहुप्रतिभाका रूपमा समाजमा सर्वमान्य हुनुभयो ।                   

पुरस्कार र सम्मान चाहिँ उहाँको हास्यव्यङ्ग्य व्यक्तित्वले पाउन समर्थ भयो । उहाँले २०५० सालमा ‘भैरव पुरस्कार’ पाउनुभयो । ‘वासुदेव लुइटेल पुरस्कार’ २०५७ मा पाउनुभयो । यस क्षेत्रका अग्रज हुँदा प्रारम्भिक लेखनमै उहाँले समयमै सम्मान प्राप्त गर्नुभयो । ‘शुभराज्याभिषेक पदक’ (२०३१) र ‘गोरखा दक्षिणबाहु चौथो’ (२०३२) पाउनुभयो । उहाँले सिक्किमबाट त्रिनेत्र सम्मान तथा चलचित्र कलाकार सङ्घबाट कदरपत्र पाउनुभयो । विविध क्षेत्रमा उहाँको योगदानलाई हेर्दा राष्ट्रले खासै केही गरेको देखिएन, न त अन्य सम्बद्ध संस्थाले नै उहाँलाई सम्झन सक्यो । उहाँका कैयन् लेख पत्रिकामा प्रकाशित भए पनि पुस्तकमा सङ्कलन हुन सकेका छैनन् ।