‘म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा म अराजकतावादी हुँ’ भन्ने बिपी कोइरालाले राजनीतिमा जीवन समर्पित गर्नुभए पनि नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनुभएको छ । यौन मनोविज्ञान र सामाजिक यथार्थमा कलम चलाउने बिपीका ‘दोषी चस्मा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘श्वेत भैरवी’, ‘आत्मवृत्तान्त’, ‘जेल संस्मरण’ लगायत कृति निकै रुचाइएका कृतिमध्येमा पर्छन् । बिपी कोइराला चित्रकारितामा समेत निकै रुचि राख्नुहुने भए पनि कृतिका रूपमा त्यस्तो पाइन्न ।
‘नेपालको ऐतिहासिक रूपरेखा’ (२००८) का लेखक बालचन्द्र शर्मालाई धेरैले इतिहासकारका रूपमा चिन्दछन् । तथापि इतिहासकार शर्माको योगदान नेपालको राजनीति र कूटनीतिमा ज्यादा पाइन्छ । अखिल भारतीय नेपाली कांग्रेसका संस्थापक उपाध्यक्ष, नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक महासचिव, नेपाल प्रजा परिषद्का अध्यक्ष, शिक्षामन्त्री, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा बालचन्द्रले महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । राणाविरोधी सङ्घर्षमा लाग्ने क्रममा वनारसबाट प्रकाशन हुने ‘युगवाणी’ र ‘नेपाल पुकार’ को सम्पादन गरेर पत्रकारितामा समेत शर्माले योगदान दिनुभएको पाइन्छ ।
चित्रकार मनुजबाबु मिश्रको साहित्यकार पाटो कमैलाई थाहा हुन सक्छ । उहाँले निबन्ध साहित्यमा महत्वपूर्ण योगदान गर्नुभएको छ । त्यसमा पनि कला निबन्धमा मिश्रको योगदान उल्लेख्य छ । २०४६ सालको परिवर्तनप्रति असन्तुष्ट मनुजबाबु त्यसपछिका दिनमा गुफावासीका रूपमा रहनुभयो । गुफाको नाम दिनुभयो, ‘हर्मिताज’ । तथापि उहाँले आफ्नो लेखन र चित्रकारिता चाहिँ छाड्नुभएन । उहाँको अढाई दशकको गुफाबासपछि आख्यानसङ्ग्रह निस्कियो, ‘हर्मिताज’, ‘स्वप्न सम्मेलन’ । उहाँको विश्व चित्रकलाको इतिहास अर्को महत्वपूर्ण कृतिका रूपमा रहेको छ । उहाँका ‘मेरो चित्र मेरो छायाँ’, ‘तरङ्ग तरेली’, ‘म र मेरो परम्परा’, ‘अनुहारका पानाहरू’, ‘अन्तरतरङ्ग’ लगायत कृति प्रकाशित छन् ।
साहित्यकार रमेश विकलको कलाकारिता पाटो कमैलाई जानकारी होला । उहाँले रवि चालिसेका नाममा चित्रकला बनाउनुभएको छ । उहाँले विशिष्ट व्यक्तित्वका मुहारचित्र र भूदृश्य, जनजीवनका चित्रकला बनाउनुभएको पाइन्छ । विकलका चित्रकलाको विश्लेषणात्मक अध्ययनका रूपमा ‘रमेश विकल हिडेन ट्यालेन्ट’ पुस्तकसमेत प्रकाशित छ । सो पुस्तकको लेखक डा. यामप्रसाद शर्मा र सम्पादक केके कर्माचार्य हुनुहुन्छ ।
त्यसो त साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितको कलाकारिता र कार्टुनिस्टको पहिचान धेरैलाई थाहा नहुन सक्छ । उहाँले कार्टुन चित्र र सामाजिक यथार्थवादी तीन दर्जन जति चित्रकला बनाउनुभएको छ । उहाँ आयुर्वेदका समेत ज्ञाता हुनुहुन्छ ।
क्यानभासमा घोडाका भावभङ्गी उतार्ने कलाकार शशिविक्रम शाहको कार्टुनिस्ट व्यक्तित्व धेरै कमैलाई थाहा छ । कलाकार शाहले पेसागत रूपमा कार्टुन कलालाई नअपनाए पनि २०१० को दशकदेखि निरन्तर कार्टुन चित्र बनाउँदै आउनुभएको छ । राजनीतिज्ञ झलनाथ खनाल र वामदेव गौतमको रुचि गीतसङ्गीतमा पनि छ । राष्ट्रिय भाव, जनजागृति, जनजीविकाका विषयमा गीत लेखन र रेडर्कमा समेत खनाल र गौतम लागिरहनुभएको छ । गौतमको ४५ भन्दा बढी गीत समावेश गीतिसङ्ग्रह प्रकाशित छ ।
राजनीतिज्ञ शङ्कर तिवारीले सम्पादनको काम गर्दै आउनुभएको छ । राजनीतिक र सामाजिक विषयमा अखबारी लेखनसमेत गर्दै आउनुभएका तिवारीले बिपी कोइरालाको ‘जेल डायरी’ को सम्पादन गर्नुभएको छ । पार्टी कामसँगै सम्पादन कार्यलाई पेसागत रूपमा नै अघि बढाउँदै आएको धारणा तिवारीको छ । ‘प्रदीप गिरीको नजरमा बिपी कोइराला’, नेपाली भाषाको प्रथम चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक एवं नेपाली कांग्रेसका संस्थापक डिबी परिहारको संस्मरणको सम्पादन तिवारीले गर्नुभएको छ ।
चट्याङ जस्तै व्यङ्ग्य बजार्ने भएर होला साहित्यमा चट्याङ मास्टरका नामले चिनिनुहुन्छ, कृष्णमुरारी गौतम । अध्ययन र पेसाका हिसाबले अर्थशास्त्रीका रूपमा राष्ट्रलाई योगदान गरिरहेका चट्याङ मास्टरले अस्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि विश्व बैङ्कका लागि विभिन्न देशमा बसेर काम गर्नुभएको पाटो ओझेलमा छ । चट्याङ मास्टरलाई कतिपयले लेखक, कवि, हास्यव्यङ्ग्यकारका रूपमा मात्रै चिन्ने गरेको पाइन्छ । सिस्नोपानी नेपालका संस्थापक चट्याङ मास्टरका हास्य विधाका दुई पुस्तक प्रकाशित छन् । पछिल्लो समय ‘एजिङ नेपाल’ संस्थामार्फत ज्येष्ठ नागरिकको हक अधिकार, जीवनस्तर सुधारका लागि चट्याङ मास्टरले काम गरिरहनुभएको छ ।
मोडलिङ र फेसन कोरियोग्राफीमा उदाउँदै गरेको नाम हो, डा. सन्तोष उपाध्याय । पेसाले एक चिकित्सक तर परिचय मोडलिङ र ब्युटी प्याजेन्ट । सन् २०१९ को मिस्टर नेपाल सन्तोषले एमबिबिएसपछि अछाममा रहेर स्वास्थ्य सेवा गर्नुभएको थियो । चिकित्सकका रूपमा सेवा गर्दागर्दै मिस्टर नेपालमा भाग लिन पुगेका सन्तोष भन्नुहुन्छ, “ब्युटी प्याजेन्टमा आकर्षण छ । ग्ल्यामर क्षेत्रमा काम गर्दा प्रचारप्रसार हुन्छ, धेरैको माझमा पुगिन्छ, सायद त्यसकै मोहले तानेको हो कि ?”
उहाँले अहिले पनि सौन्दर्य प्रतियोगितामा कोरियोग्राफरका रूपमा काम गर्दै आउनुभएको छ । पेसाले आइटी इन्जिनियर आर्जन पाण्डेमा विद्यालयदेखि नै गायनमा हुटहुटी थियो । १९७४ एडी ब्यान्डको गीत धेरै पटक स्टेजहरूमा गाएको सम्झना उहाँमा अझै ताजै छ । मावली हजुरबा हरिप्रसाद रिमालको साङ्गीतिक माहोलले आफूमा गायनको रस बसेको हो कि भन्ने धारणा उहाँको छ । आर्जन पाण्डेको साङ्गीतिक रुचिमा परिवारले भाँजो पनि हालेन । आर्जनले रेलिमाई, डल्लर, झिमिक्कै परेली, झुसे बारुलोलगायत डेढ दर्जनभन्दा बढी गीतमा स्वर दिनुभएको छ ।
एसिड आक्रमणबारे ‘ओइलिएर झर्न दिन्नँ’ बोलको सचेतनामूलक गीतबाट आर्जनले सन् २०१५ मा इमेज अवार्डसमेत प्राप्त गर्नुभएको थियो । लप्पनछप्पन, शिरफूललगायत चलचित्रमा आर्जनको स्वर सुन्न सकिन्छ । डा. आयुष्नोभा ढुङ्गानाले हार्वड मेडिकल स्कुलबाट मानसिक स्वास्थ्य विषयमा अध्ययन गर्नुभएको हो । तथापि ढुङ्गानाको परिचय मोडलिङ र ब्युटी प्याजेन्टमा छ । डा. आयुष्नोभाले ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि जित्नुभएको थियो । नायक सन्जोग कोइराला पेसाका हिसाबले चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । टेलिशृङ्खला ‘तितो सत्य’ मा बालकलाकार भएर अभिनययात्रामा होमिएका राज आचार्य यतिबेला चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ ।
अध्ययन, पेसा र रोजगारीका हिसाबले समाजमा फरक परिचयमा स्थापित भए पनि कतिपय मानिसका रुचिले फरक क्षेत्रमा सक्रिय बनाउँछ । यसले अघिल्लो परिचयलाई विस्थापित गर्दै फरक कामका कारणले नयाँ परिचय स्थापित हुन पुग्छ । प्राडा रामकुमार पाँडेले अध्ययन र अध्यापनका क्षेत्रमा भूगोल विषय अँगाल्नुभयो । जीवनको लामो समय यसै क्षेत्रको अध्ययन, अनुसन्धान र प्राध्यापनमा खर्चिनुभयो । तथापि उहाँको परिचय एउटा हास्यव्यङ्ग्यकार, कार्टुनिस्ट र कार्टुनसम्बन्धी अध्ययनका क्षेत्रमा छ । उहाँले कुनै समय उडकट प्रिन्ट, चित्रकलाका क्षेत्रमा समेत काम गर्नुभएको थियो ।
शताब्दी उमेरको डिलमा पुग्नुभएका भद्रकुमारी घलेको परिचय सामाजिक व्यक्तित्वका रूपमा छ । पञ्चायतकालमा राज्यमन्त्रीसम्म बन्नुभएकी घले साहित्य लेखनमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । त्यसो त उहाँको कलाकार व्यक्तित्वसमेत ओझेलमा छ । उहाँले चार्कोल प्रयोग गरी बनाएका चित्रकला नेपाल प्रज्ञा–प्रतिष्ठानदेखि विभिन्न क्षेत्रमा सङ्गृहीत छन् ।