• १२ माघ २०८१, शनिबार

सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छः मन्त्री यादव

blog

खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ११ गते । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खानेपानी नपुगेका उपभोक्तालाई समेत खानेपानी पुर्‍याउने गरी बजेट ल्याउने जानकारी दिनुभयो ।

मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्‍याउन समस्या भएको बताउनुभयो । उहाँले वर्तनमा सरकार आगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताउनुभयो । उहाँले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको जानकारी दिनुभयो । उहाँले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि उहाँको भनाइ छ ।

‘‘विगतका मन्त्रीले कुन खालको बजेट बनाउनुभयो थाहा भएन । अबको बजेट हिमाली, पहाडी वा तराईका जनताको हकमा बन्छ । खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएका छौं । अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बन्छ ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘यो कार्यान्वयन हुन्छ । कसैको प्रभावमा खानेपानी मन्त्रालय पर्दैन । १०० प्रतिशत नागरिकको घरमा पानी जाने गरी योजना बनाएका छौं ।’’

उहाँले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गर्नुभयो । उहाँले मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याइने सरकारको योजना रहेको बताउनुभयो ।

‘‘मेलम्चीमा भएको भ्रष्टाचारको विषयमा अदालतले निर्णय गरिसकेको छ । मेरो कार्यकालमा भ्रष्टाचार हुँदैन त्यसको ग्यारेन्टी लिन्छु । मेलम्चीको नयाँ पाइपलाइनहरु धेरै विस्तार भएको छ ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘पाइपमा चुहावट देखिएको छ । नयाँ बनाउँदा समस्या आउने भइरहेको छ । प्राविधिकहरु फिल्डमा नै काम गरिरहेका छौं । समस्या भएको ठाउँमा समाधान गरेर सरकार अघि बढ्छ । मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको छ ।’’