रवीन्द्र उप्रेती
बर्दीबास, माघ ११ गते । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ । चिसो स्याँठ, बाक्लो हुस्सु र वर्षाझैं परिरहेका बाक्लो तुषारोले सडकमा चहलपहल घटेको छ ।उसमाथि बेलाबेला चल्ने पश्चिमा स्याँठले जनजीवनलाई थप अस्तव्यस्त पारेको छ ।
साता दिनदेखि जिल्लाको दक्षिणी भेगमा बढ्दै गएको शीतलहरको प्रकोपले सोमबारदेखि उत्तरी भेगलाई पनि छोपेको छ । यो वर्ष शीतलहरले समयसारिणी फेरेको अनुभूति गराएको छ । विगत वर्षहरुमा प्रायः पुसमा लाग्ने शीतलहर यो वर्ष माघ दोस्राे साताबाट सुरु भएकोले कहिलेसम्म लम्बिने हो अनिश्चित छ ।
यसबिच यहाँको न्यूनतम तापक्रम १० देखि ९ डिग्रीमा झरेको छ । मौसमविद्हरुका अनुसार मौसमी तापक्रम १० डिग्रीभन्दा तल झर्याे भने तराई क्षेत्रमा शीतलहरको प्रकोप मानिन्छ । बाक्लो कुहिरो र कम भिजिबिलिटीको असर सवारी आवागमनमा पनि देखिएको छ । सधैं सवारीको चाप रहने बर्दीबासस्थित पूर्वपश्चिम र बीपी राजमार्गमा फाट्टफुट्ट मात्र सवारी चलेका छन् ।
शीतलहर लम्बिदै जाँदा हाटबजारमा भीडभाड घटेको छ भने अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । जाडोमा च्याप्ने दम, श्वासप्रश्वास, कोल्ड डाइरिया जस्ता बिरामीको सङ्ख्या बढ्न थालेको चिकित्सकहरुले जनाएका छन् ।
बर्दीबास अस्पतालको बहिरङ्ग सेवामा यस्ता बिरामीको सङ्ख्या दैनिक ८० देखि ९० जनासम्म आउने गरेको असपतालका डा. रितेश घिमिरेले बताउनुभयो । अस्पतालको आकस्मिक कक्षमा गम्भीर अवस्थाका १५ जनाभन्दा बढी जाडोका बिरामी भर्ना हुने गरेको डा. घिमिरेले जनाउनुभयो । त्यस्तै जलेश्वरस्थित प्रादेशिक असपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहका अनुसार त्यहाँ पनि दैनिक ७५ देखि ८० जनासम्म जाडोका बिरामी आउने गरेका छन् ।
चिसोबाट नजोगिए शरीरलाई आवश्यक तापक्रम घटेर ‘हाईपोथरमिया’ को डर हुने हुँदा यस्तो अवस्थाबाट जोगिन बिनाकाम घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न र खानपानमा विशेष ध्यान दिन दुवै चिकित्सकको सुझाव छ । जाडोको प्रभाव कृषि तथा उद्योगमा पनि देखिएको छ । कृषि मजदुर काममा निस्कन नसकेपछि रामनगरस्थित चिनी मिलमा उखुको अभाव भएको छ । मौसमी चिसो थप बढ्दै गएकोले उखुको आपूर्ति ठप्पप्रायः भएको एभरेष्टले जनाएको छ ।
एभरेष्टका महाप्रबन्धक सुरेन्द्र शुक्लाले उखु अभावले अहिले (शुक्रवार) बिहान ११ बजेपछि क्रसिङ ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो । प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट प्रभावितको उद्धार गर्न सामूहिक प्रयासको निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले स्थानीय तहसँगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरी दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सङ्घ संस्थाहरुसँग सहमति भएको जनाउनुभयो ।
यो सहमतिसँगै नेपाली सेनाले न्यानो अभियानअन्तर्गत कम्बल र डिभिजन वन कार्यालयले दाउरा वितरण सुरु गरेपछि सर्वसाधारणले न्यानोको अनुभूति गरेको जनाएका छन् ।
प्रकौलीस्थित सेनाको श्री गोरखनाथ गणले औरही र मटिहानी नगरपालिका तथा सोनमा गाउँपालिकाका ७०० परिवारलाई कम्बल वितरण गरेको जनाएको छ । गणपति विनोद विकास पाठकका अनुसार कम्बल वितरण गरिएकामा अधिकांश मुसहर समुदाय र केही अति विपन्न परिवार छन् ।
त्यस्तै डिभिजन वन कार्यालय महोत्तरीले पहिलोपटक सार्वजनिकरुपमा दाउरा वितरण गरेको छ । विभिन्न सरकारी कार्यालय लगाएत मटिहानी, बर्दीबास, जलेश्वर, समसी, औरही नगरपालिकाका सार्वजनिक चोक, मठमन्दिर, बजार एरिया, दलित तथा विपन्न बस्तीमा वितरण गरेको कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख अजयकुमार मिश्रका अनुसार अहिलेसम्म १ ट्रक र ५० ट्रयाक्टर गरी १५ चट्टा दाउरा निःशुल्क वितरण गरिएको बताउनुभयो । शीतलहर लम्बिँदै गए थप दाउरा वितरणको तयारी गरिएको मिश्रको भनाइ छ । बर्दीबास नगरपालिकाले पनि आन्तरिक स्राेत तथा डिभिजन वनको सहकार्यमा सार्वजनिक स्थलमा दाउरा वितरण गरेको जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार शीतलहरको प्रकोप हिउँदे बालीमा पनि देखिन थालेको छ । चिसो बढ्दै गएपछि आलु, गोलभेंडा बालीमा डढुवा रोगको प्रकाेप बढ्न थालेको छ । घाम नलाग्दा प्रकाश संश्लेषणको अभावले लहरे तरकारीको वृद्धि विकास प्रभावित भएको जनाएको छ ।