• ११ माघ २०८१, शुक्रबार

मरिण तटबन्धविरुद्ध जग्गाधनी आन्दोलित

blog

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत तटबन्ध गर्न लागिएको मरिणखोला । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), माघ ११ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिणखोलामा तटबन्ध निर्माण सुरु भएसँगै जग्गाधनी आन्दोलित बनेका छन् ।

आयोजनाले पहिले खोलाको बहाव क्षेत्रमा तटबन्ध नगरी हाल खोला हिँडिरहेको जग्गाधनीको जग्गामा तटबन्ध सुरु गरेपछि आफूहरू आन्दोलित हुनु परेको जग्गाधनीको भनाइ छ । आयोजनाले सुनकोशी नदीको पानी सुरुङमार्फत मरिणखोलामा मिसाउँदा मरिण क्षेत्रको उर्वर जमिन डुबान र कटानमा पर्ने भएकाले दुवै किनारमा तटबन्ध निर्माण गर्न थालेको हो । 

हाल मरिणखोला बगिरहेको क्षेत्रलाई आधार मानी तटबन्ध गर्दा आफूहरू सुकुमवासी हुने भन्दै आयोजना प्रभावित क्षेत्रका किसानले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

कमलामाई नगरपालिका–१ निवासी किसान नरेश ढकाल नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा तटबन्ध निर्माणको माग गर्दा आफूहरू आन्दोलित भएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामी विकासविरोधी होइनौँ । नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा खेत बिराएर अर्काले बाली लगाएर उपभोग गरिरहेको छ । अहिले खोला बगिरहेको ठाउँमा हामीले बर्सेनि तिरो तिरिरहेका छौँ ।”

नक्सा अनुसार खोला हिँडेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्नुपर्ने स्थानीय किसानको माग रहेको उहाँले जानकारी दिनुभयो । “अहिले खोलो बगेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्दा दुई÷तीन बिघाका मालिक रहेका किसान पनि सुकुमवासी हुने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “नक्सा अनुसार खोलाको भाग छुट्याएर तटबन्ध निर्माण गरौँ । नपुगे खोलाको दुवै किनारबाट सबैलाई न्याय हुने गरी तटबन्ध गरौँ भन्ने हाम्रो माग हो ।”

सोही ठाउँका अर्का किसान प्रतिमान बम्जनले आयोजनाले जबरजस्ती काम गरे पीडित किसान न्यायको माग गर्दै सर्वोच्च अदालतसम्म जाने तयारी गरिरहेको बताउनुहुन्छ । आयोजनाले तटबन्ध निर्माणका लागि प्रभावित क्षेत्रमा किसानको जग्गामा रातो रिबन बाँधेर किला ठोकेर रेखाङ्कन गरेको र ती किला पीडित किसानले उखेलेर फालेको उहाँले जानकारी दिनुभयो ।

“आयोजना आउँदा हामीलाई धेरै खुसी लागेको छ,” उहाँले भन्नुभयो, “यो आयोजना पहिले नै आउनु पर्दथ्यो, ढिला आयो तर आयोजनाको काम सुरु भएसँगै आफूहरू सुकुमवासी हुने भएपछि आन्दोलित हुन परेको हो ।”

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार सुनकोशीको पानी मरिणखोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिणखोलाको बहाव क्षेत्र करिब ४० किलोमिटर लम्बाइको छ । हाल प्याकेजमा दुवै किनारमा तटबन्धको काम सुरु भएको छ ।

गत वर्ष पहिलो प्याकेज अन्तर्गत दुई किलोमिटर तटबन्धको काम भइरहेको छ । हाल दोस्रो प्याकेज अन्तर्गत छ किलोमिटर तटबन्ध गर्ने तयारी भइरहेको छ । सुुनकोशी नदीको पानी मरिणखोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी तटबन्ध गरेर जग्गाको सुरक्षा गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्री कार्कीले संवेदनशील क्षेत्र पहिचान गरी ती ठाउँमा तटबन्ध निर्माणको काम अघि बढेको बताउनुभयो । तटबन्ध निर्माण स्थानीयको सहमतिमा वरपर सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

पहिलो प्याकेज जयमा स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभी निर्माण कम्पनीसँग सम्झौता भई निर्माण सुरु भएको र उक्त कार्य मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । दोस्रो प्याकेजका लागि स्रोत सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयमा फाइल गएको र स्रोत सुनिश्चित भएपछि यो वर्ष ठेक्का सम्झौता हुने आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माण गरी पानी बग्ने ५.५ डायमिटरको १३.३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने योजना रहेको छ ।

उक्त आयोजना अन्तर्गत ३१.७ मेगावाट विद्युत् उत्पादन गर्ने र सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पु-याई तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।