• ११ माघ २०८१, शुक्रबार

काँक्राको बिउ उत्पादनमा रमाएको गाउँ

blog

पर्वतको दक्षिणी भेगको कर्नासगाउँ ।

कुस्मा समाचारदाता

कुस्मा (पर्वत), माघ ११ गते । पर्वतको दक्षिणी भेगमा पर्ने एक गाउँमा विगत २५ वर्षदेखि काँक्राको बिउ उत्पादन हुँदै आएको छ । जिल्लाको फलेवास नगरपालिका–११ मा पर्ने कर्नासमा रहेका सबै गाउँले काँक्राको बिउको व्यावसायिक उत्पादनमा रमाएका छन् ।

कृषक सूर्यबहादुर कुँवरको अगुवाइमा नारायणस्थान बिउ उत्पादन समूह २०५७ सालमा स्थापना भएपछि बिउ उत्पादनको व्यावसायिक सुरुवात गरिएको थियो । अगुवा कृषक ६० वर्षीय विश्वराम उप्रेतीका अनुसार कर्नासगाउँका कृषकले गत वर्ष ७० क्विन्टल बिक्री गरेका थिए भने यस वर्ष ६३ क्विन्टल बिउ उत्पादन गरेका हुन् । उत्पादित भक्तपुरे लोकल जातको काँक्राको बिउलाई प्रतिकेजी १० हजार रुपियाँका दरले बिक्री गर्दा छ करोड ३० लाख रुपियाँ गाउँमा भित्रिएको अगुवा कृषक बाबुराम भुसालले बताउनुभयो ।

समूह गठन भएको सुरुको वर्ष कृषकले चार केजी काँक्राको बिउ उत्पादन गरेका थिए भने ६५ केजी ४० दिने मुलाको बिउ उत्पादन गरेको अगुवा कृषक भुसाल बताउनुहुन्छ । काँक्राको बिउ उत्पादनको सुरुवाती दिन सम्झिँदै समूहका संस्थापक कोषाध्यक्षसमेत रहेका कृषक भुसाल भन्नुहुन्छ, “काँक्राको बिउको सुरुमा चार केजी उत्पादन गरिँदा प्रतिकेजी आठ सय रुपियाँका दरले बिक्री भएको थियो । भुसालले भन्नुभयो, “बिउ उत्पादन गर्न थालेको दुई/तीन वर्षमै ४५ क्विन्टल बिउ उत्पादन गर्न सफल भएका थियौँ । केही वर्ष मुला, हाइब्रिड टमाटर, चम्सुरलगायतको बिउ उत्पादन पनि गरियो । काँक्राको बिउबाट नै मनग्गे आम्दानी हुन थालेपछि केही वर्षदेखि यसैको मात्र व्यावसायिक उत्पादनमा लाग्दै आएका छौँ ।”

गाउँमा ७२ घरधुरी छन् भने बाँकी रहेका केही कृषकसमेत यही पेसामा आकर्षित हुँदै गएको पाइन्छ । गाउँमा बर्सेनि पाँच लाखदेखि १८ लाख रुपियाँसम्मको बिउ बिक्री गरी आम्दानी गर्ने कृषक छन् । कृषक टुकप्रसाद पौडेलले यस वर्ष एक क्विन्टल काँक्राको बिउ बिक्री गरी १२ लाख रुपियाँ आम्दानी गर्नुभयो । कृषक पौडेलले दुःख गरे अनुसारको प्रतिफल बिउ उत्पादनबाट हुने गरेकोमा खुसी व्यक्त गर्दै यसलाई नगदे बालीका रूपमा भएको बताउनुभयो । बिउ उत्पादनसँगै हिउँदे आलु खेती गर्न र पोखरेली जेठोबुढो धान पनि लगाउन पाइएको उहाँ बताउनुहुन्छ । 

कृषकले फागुनको पहिलो साता रोपेका काँक्रा जेठमा तयार भई बिउ निकालेर असारसम्ममा बिक्री गरिसक्छन् । स्थानीय कृषकका अनुसार अधिकांश बिउ काठमाडौँको कालीमाटी बजारका व्यापारीले खरिद गर्छन् । यस वर्ष उत्पादित ५० केजी काँक्राको बिउ बिक्री गरी पाँच लाख रुपियाँ कमाइ गर्ने कृषक सूर्यबहादुर सुनारले डेढ दिनको मेलाबाट उत्पादन हुने बिउ बिक्रीबाट पाँच लाख कमाइ भएको सुनाउनुभयो । बिउको बजार मूल्य राम्रो हुँदा विदेश जान तर्खर गर्ने युवासमेत गाउँमै बस्ने र यहीँ काम गर्ने मन गरेको उहाँ बताउनुहुन्छ ।