• १० माघ २०८१, बिहिबार

लोकमार्गको जङ्गली क्षेत्र जोखिमपूर्ण

blog

जङ्गली क्षेत्रमा पर्ने लक्ष्मीनियाँ चोकमा भर्खरै स्थापना गरिएको ट्राफिक पोस्ट । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, माघ १० गते  ।  ट्राफिक सेवाको सहज पहुँच नहुँदा पूर्वपश्चिम लोकमार्गमा पर्ने जङ्गली क्षेत्रको यात्रा जोखिमपूर्ण बनेको छ । मानव बस्तीदेखि टाढा रहेको लोकमार्गको वन क्षेत्रमा सुरक्षा, ट्राफिक र सञ्चारको समेत नियमित सेवा नहुँदा सवारी आवागमन जोखिमपूर्ण भएको हो । 

लोकमार्गको जङ्गली क्षेत्रमा सर्वाधिक दुर्घटना हुने गरे पनि समयमै सूचना नपाउँदा र भौगोलिक दुरीले घाइतेको उद्धार, घटना अनुसन्धान र दोषीलाई कारबाहीको दायरामा ल्याउन समस्या उत्पन्न हुने गरेको बर्दीबास ट्राफिकले जनाएको छ । यो क्षेत्रको भौगोलिक अवस्थिति पनि जटिल छ । बर्दीबास पश्चिम बाँके खोलाको १४ किलोमिटरसम्म जङ्गली क्षेत्र पर्दछ । बाँकेदेखि पश्चिम पनि उत्तिकै दुरीमा सर्लाहीको वन क्षेत्र रहेको छ । दुवै जिल्ला मिलाएर वनजङ्गलले चर्चेको झन्डै ३० किलोमिटर दुरी  सर्वाधिक दुर्घटना हुने क्षेत्र पनि हो । 

ट्राफिकका अनुसार चालु आवको साउनदेखि पुससम्मका छ महिनामा बर्दीबासदेखि बाँकेसम्मको १४ किलोमिटर जङ्गली क्षेत्रमा ११ वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका थिए । यी भेगमा घटना घटिहाले मानवीय सेवा पाउन पनि हम्मे पर्छ । सर्लाहीतर्फको वन क्षेत्रमा पनि यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । जिल्ला ट्राफिक प्रमुख लक्ष्मीप्रसाद जोशीका अनुसार लोकमार्ग आसपासको क्षेत्रबाट मोबाइल सम्पर्क पनि नहुने हुँदा सडक दुर्घटनाको समयमै खबर पाउन मुस्किल पर्छ । सूचना पाएपछि पनि दुर्घटनास्थल पुग्न समय लाग्छ । 

सुरक्षाकर्मी पुगुन्जेलसम्म कतिपय घाइतेको अवस्था गम्भीर भइसकेको हुन्छ । यसबिच दुर्घटनाका दोषी सुनसान जङ्गलको सहायक मार्ग हँुदै भागिसकेका हुन्छन् । यो अवस्थाले दुर्घटना अनुसन्धान, क्षतिपूर्ति र कारबाहीलाई पनि असहज पार्ने गरेको उहाँले बताउनुभयो । लोकमार्गले छिचोल्ने जङ्गली क्षेत्र वन्यजन्तुको आवागमन स्थल पनि हो । यी क्षेत्रमा विचरण गर्ने हरिण, बँदेल, नीलगाई जस्ता वन्यजन्तु पनि सवारी दुर्घटनाका कारण बनेका छन् । यस्ता घटनाको पनि समयमै सूचना र उद्धार हुन नसक्दा कतिपयको ज्यानसमेत गएको घटनाव्रmमले देखाएका छन् । 

अर्कोतर्फ सुनसान जङ्गलमा पुगेपछि चालकले तीव्र गतिमा सवारी चलाउने, दादागिरी देखाउने, साइड नदिने, लगाएको हेलमेट पनि खोलेर राख्ने, सवारी नियमको पालना नगर्ने जस्ता प्रवृत्तिले पनि सडक दुर्घटना बढाउने गरेको स्थानीयको भनाइ छ । 

पूर्वपश्चिम लोकमार्गको लक्ष्मीनियाँ चोकमा भेटिनुभएका तरकारी व्यापारी रामलाल सिंहले भन्नुभयो, “जङ्गलको बाटोमा कारबाहीको डर नभएपछि जे गरे पनि भयो भन्ने सोचले तछाडमछाड गरेर एकले अर्कालाई उछिन्न खोज्छन् । यस्तोमा दुर्घटना त हुन्छ नै ।” यो रुट उखु  ढुवानीको प्रमुख मार्ग पनि हो । व्रmसिङ सिजनमा रामनगरको एभरेस्ट र सर्लाहीको इन्दुशङ्कर चिनी मिलमा यही रुट भएर उखु आपूर्ति हुने गर्छ । क्षमताभन्दा बढी भार बोकेका मुख्यतः उखुका ट्याक्टर पनि जङ्गली क्षेत्रमा दुर्घटनाका कारण बन्ने गरेका छन् । 

राजमार्ग आसपासका सुनसान क्षेत्रमा लामो समयदेखि विद्यमान यी समस्या समाधानका साथै सवारी नियमन र दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक कार्यालय बर्दीबासले वन क्षेत्रमा पनि सेवा विस्तारको तयारी गरेको ट्राफिक प्रमुख लक्ष्मीप्रसाद जोशीले बताउनुभयो ।