बुटवल समाचारदाता
बुटवल, माघ १० गते । अब बन्ने शिक्षा ऐनमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्न माग गरिएको छ । सरकारले ल्याउन लागेको शिक्षा विधेयकउपर सुझाव सङ्कलनका लागि लुम्बिनी प्रदेशको बुटवल आएको सङ्घीय प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका प्रतिनिधिसँग बुटवलका शिक्षा क्षेत्रका सरोकारवालाले उक्त माग गरेका हुन् ।
समितिका सभापति अमरबहादुर थापासहितका सङ्घीय सांसदको समूहले बुटवल–१०, कालिकानगरमा रहेको देशकै ठुलो सामुदायिक विद्यालय कालिका मानवज्ञान माविको मङ्गलबार अवलोकन गर्दै सुझाव सङ्कलन गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले अबको शिक्षासम्बन्धी ऐनमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्न आग्रह गर्नुभयो । विद्यालयमा सात हजार ७५० जना विद्यार्थीले अध्ययन गर्दै आएकोमा विद्यार्थीको तुलनामा अति न्यून सरकारी दरबन्दीका शिक्षक रहेको उहाँले गुनासो गर्नुभयो । हाल विद्यालयमा स्वीकृत दरबन्दी जम्मा ४६ जना, राहतकोटा आठ जना, प्राविधिक आठ जना गरी जम्मा ६२ जनाको मात्रै शिक्षक दरबन्दी रहेकोमा विद्यालय स्रोतबाट २८५ जना शिक्षक तथा कर्मचारीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयमा दरबन्दी कायम गर्नुपर्ने भन्दै त्यो नभएमा अबको शिक्षा सुधार हुन नसक्ने बताउनुभयो । नगरप्रमुख पाण्डेयले कसैका छोरीबुहारीलाई जागिरका लागि घरपायक मिलाउन विद्यार्थी सङ्ख्या नै नभएको स्थानमा शिक्षक दरबन्दी कायम गरिएको छ तर जहाँ विद्यार्थीको सङ्ख्या बढी छ, त्यहाँ दरबन्दी नै छैनन् भन्दै अबको शिक्षा ऐनमा व्यापक सुधार गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसहितका सदस्यलाई अविलम्ब शिक्षा विधेयकमा संशोधन गरी दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा मिलान गर्नुपर्ने, विद्यार्थी नभएको स्थानबाट दरबन्दी कटौती गर्ने व्यवस्था गर्न समितिलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थी सङ्ख्या बढ्दै गएको तर विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक भने ज्यादै न्यून भएकोले अबको शिक्षा ऐन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । कालिका मानवज्ञान माविका पूर्वप्रधानाध्यापक तथा शैक्षिक सल्लाहकार घनश्याम पाठकले अबको शिक्षा ऐनले शिक्षकको माग सम्बोधन गर्ने गरी विद्यालय व्यवस्थापन समितिबाट नियुक्त भएका सबै शिक्षकको भविष्य सुनिश्चित हुने खालको ऐन आउनुपर्नेमा जोड दिनुभयो ।
सहभागीका सुझाव सुनेपछि धारणा राख्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्नुपर्ने पक्षमा समिति रहेको भन्दै आफूहरूले सरकारलाई ऐन बनाउन सोही अनुसारको सुझाव दिने बताउनुभयो ।