राधाकृष्ण डुम्रे
वालिङ, माघ ९ गते । स्याङ्जाको वालिङमा ‘वालिङ सिटी महोत्सव’ हुने भएको छ । कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनका लागि चेम्बर अफ कमर्स वालिङले महोत्सव गर्न लागिएको हो ।
‘वालिङको शान कृषि, खेलकुद संस्कृति औद्योगिक विकास हाम्रो पहिचान’ भन्ने नाराका साथ आगामी फागुन ९ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने चेम्बर अफ कमर्स वालिङका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सवका बारेमा जानकारी दिन बुधबार वालिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नुहँदै अध्यक्ष न्यौपानेले स्थानीय उत्पादन बढाउन र बजारीकरण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । स्थानीय उत्पादनले बजार नपाएको तर बाहिरबाट आएका सामाग्रीहरु सजिलै बिक्री हुने गरेको भन्दै न्यौपानेले उत्पादनलाई बजारसँग जोड्न महोत्सव सफल हुने बताउनुभयो ।
महोत्सवले वालिङ तथा आसपासका क्षेत्रको कृषि उत्पादन र पर्यटनलाई प्राथमिकता दिने चेम्बरका महासचिव गणेश राउतले बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नु पर्नेमा जोड दिनुभयो ।