भाइबहिनीहरू, निकै चिसो बढ्ने भएकाले पुसमा जाडो बिदा हुन्छ । विद्यालय बन्द हुन्छ । पहिले पहिले जाडोमा दुई महिना बिदा दिइन्थ्यो । अचेल प्रायः एक महिना बिदा दिने चलन छ । यो बिदा के गरेर बिताउने होला भन्ने चासो पनि होला है ? विद्यालय खुलेका दिनमा कामको चाप धेरै हुन्छ । कक्षामा बसेर दिनभरि पढ्नुपर्ने, गृहकार्य गर्नुपर्ने, अभिभावकलाई घरको काममा सघाउनुपर्ने आदिमा व्यस्त रहने गरिन्छ । गणित र विज्ञानका सर त कति कडा है ? अभ्यास गर्न दिएको पूरा भएन भने सबैका अघि उभ्याएर हैरान । यस्तै यस्तैमा व्यस्त भएर समय बितेको पत्तै हुँदैन थियो तर अहिले जाडो बिदा हुँदा केही दिन पढाइको व्यस्तताबाट फुक्का भएको जस्तो पनि लागेको होला ।
बिदाका दिनमा ढुक्कले आराम गर्ने विचार गर्नुभएको होला । मन लागेको अरू कुरो गरेर समय बिताउने चाहना हुन सक्छ । मामाघर जान मन लागेको हुन सक्छ । सिनेमा घरमा लागेको नयाँ सिनेमा हेर्न मन लागेको हुन सक्छ । जसरी पनि समय त बित्छ । समय बिताउन त्यति कठिन पनि छैन । रमाइलो गरेर समय बिताउन पाए कति गजब हुन्छ हगि ?
विद्यालय खुलेको समयमा दिनदिनै गर्ने काम प्रायः एउटै हुन्छ । बिहानै उठ्ने, सफा सुग्घर हुने, गृहकार्य गर्ने, खाना खाने र विद्यालय जाने । सामुदायिक विद्यालयले प्राथमिक तहका विद्यार्थीलाई खाजा पकाएर खुवाउँछ । निजी विद्यालयका विद्यार्थीले घरबाट लैजाने वा क्यान्टिनमा खाजा खाने चलन हुन्छ ।
विद्यालयमा लामो बिदा भएपछि सधैँ गरिने काम अलमलिन पुग्छन् । बिहान उठ्ने समयदेखि बेलुका सुत्ने बेलासम्मको समयलाई ठिक तरिकाले उपयोग गर्न सकिएन भने बिदाको सदुपयोग गरेको मानिँदैन । ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने, स्वस्थ खानपान गर्ने, सिर्जनात्मक काम गर्ने, उचित व्यवहार गर्ने र परिवारसँग समय बिताउने गरेर बिदाको समयलाई उपयोग गर्नु पर्छ ।
काठमाडौँ, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज जस्ता सहरमा बसोबास गर्ने वा घर भएका बालबालिकाको बिदाको समय उपयोग गर्ने तरिका एक किसिमको हुन सक्छ । यसै गरी ग्रामीण समाजमा बसोबास गर्ने बालबालिकाले बिदा उपयोग गर्ने तरिका फरक हुन सक्छ । जाडो मौसम भएकाले तपाईंहरूले आफ्नो स्वास्थ्यलाई बढी ख्याल गर्नु पर्छ । विद्यालयले दिएका गृहकार्यलाई पूरा गर्ने योजना बनाउनु पर्छ । एकै दिन गृहकार्य सकेर अरू दिन ढुक्कले बस्नु हुँदैन । बिदा भएको हरेक दिन केही समय पठनपाठनमा ध्यान दिइरहनु पर्छ । त्यसैले गृहकार्य पनि जति दिन बिदा हुन्छ त्यति दिनलाई पुग्ने गरी दिइएको हुन्छ । त्यसैले सामान्यतः दिनको दुई तीन घण्टा गृहकार्यका लागि छुट्याउनु राम्रो हुन्छ । केही महिनापछि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुने भएकाले कक्षा १० का विद्यार्थीले बढी समय परीक्षाको तयारीमा दिनु पर्छ ।
बिदाको समयमा यसअघि पढिसकेका पाठ दोहोर्याएर पढ्ने बानी गर्नु पर्छ । यसो गरेमा पढिसकेका पाठ सम्झिन सहज हुन्छ । यसो भनेर बिदाको समयमा पनि सधैँ पाठ्यपुस्तक पढिरहनु पर्छ भन्ने होइन । बिदाको समय तपाईंहरूका मनमा भएका तर पूरा गर्न समय नपुगेका इच्छा पूरा गर्ने अवसर पनि हो । तपाईंको यो समय घर व्यवहारका काम सिक्ने अवसर पनि हो । विद्यार्थीका लागि अतिरिक्त ज्ञान हासिल गर्न पाउने अवसर पनि हो ।
बिदाको यो समय कला र व्यक्तिगत प्रतिभा विकासमा नजानिँदो तरिकाले तपाईंहरूको ध्यान जाने गर्छ । यसरी ध्यान जाने गरेको क्षेत्रमा अलिक मन दिनु होला । यसले तपाईंभित्र भएको प्रतिभाले फुल्ने अवसर पाउने छ । तपाईं छात्रावासमा बसेर पढ्दै हुनुहुन्छ भने जाडो बिदामा अवश्य घर जानुहुन्छ । त्यहाँको परिवेशमा बाबुआमा, दाजुभाइ दिदीबहिनी, छिमेकी, आफन्तसँग भेटघाट, सम्बन्ध विस्तार र तपाईंमा भएको क्षमता प्रस्तुत गर्ने अवसरका रूपमा लिनु राम्रो हुन्छ । भेट भएका आफन्तले तपाईंप्रति गर्ने व्यवहार र दिएका सुझाव भविष्यका लागि उपयोगी हुन सक्छन् । अरूले तपाईंप्रति गरेको व्यवहार मन परे तपाईं पनि सिक्नु होला । अरूको व्यवहार मन नपरे यस्तो व्यवहार आफूले नगर्ने प्रतिज्ञा गर्नु होला ।
अभिभावकले गरिरहेका काम, पेसा, व्यवसायमा सघाउन मन लागे झनै राम्रो । करेसाबारीमा काम गर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, तरकारी केलाउने र पकाउने, घरआँगन सफा गर्ने, बाटो खन्ने, धार्मिक आस्था अनुसार मठमन्दिर, देवालय, गुम्बा, मस्जिद, चर्च जान सकिन्छ । यसै गरी सुरक्षित तरिकाले खोलानाला, भिरपाखा, पहिरो हेर्ने, वन जङ्गलको यात्रा गर्न सकिन्छ । रमणीय लागेका स्थान, वस्तुको तस्बिर खिचेर सङ्कलन गर्न वा ऐतिहासिक, धार्मिक, सामाजिक तथा प्राकृतिक महत्वको खोजी गरेर जानकारी लिन सकिन्छ । गाउँ समाजमा भएका परम्परागत सिप जस्तै चोया काढ्ने, चित्रो वा मान्द्रो बुन्ने, दाम्लो वा नाम्लो बाट्ने, नाङ्लो बुन्ने, मोही पार्ने, दुध दुहुने, गुन्दुक सिन्की बनाउने, लुगा सिलाउने जस्ता काम सिक्न सकिन्छ ।
तपाईं गाउँमा हुनुहुन्छ भने बिदाको समय पारेर सहर बजार घुम्न जाने अवसर मिलाउन सक्नुहुन्छ । रुचि अनुसार साहित्यिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र पुरस्कार प्राप्त कृति खोजेर पढ्ने, मुख्य कुरा टिपोट गर्न सकिन्छ । इन्टरनेट र मोबाइलको सुविधालाई ज्ञान आर्जन र फोटोग्राफी, भिडियो बनाउने जस्ता सिपको अभ्यास गर्ने तथा स्वस्थ मनोरञ्जनका साथै सामाजिक सञ्जालमा जोडिने माध्यमका रूपमा सदुपयोग गर्नु पर्छ ।
यी सबै कामको दैनिक मितिसहित टिपोट गरी दैनिक डायरी लेख्नुहोला । यसो गरेमा पछिसम्मका लागि उपयोगी हुन्छ । सधैँ हेक्का राख्नुहोला यो समय तपाईंमा भएको क्षमता आफ्ना अभिभावकलाई देखाउने, सल्लाह सुझाव पाउने र अझ विकास गर्न यो राम्रो अवसर पनि हो ।