जनकपुरधाम, माघ ८ गते । मधेश प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।
छलफल कार्यक्रममा बोल्नुहुँदै प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानुन नबाझियोस् भनेर छलफल सुरु गरेको बताउनुभयो । उहाँले तीन तहको सरकारबिच समन्वय जरुरी रहेको जानकारी दिनुभयो । मन्त्री लेखीले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबिच पनि समन्वय जरुरी रहेको उल्लेख गर्नुभयो ।
‘‘संघको, स्थनीय तहको, प्रदेशको कानुन नबाझियोस् । त्यतातिर हामी सबै अलिकति सजग रहनुपर्छ । तीन तहको बिचमा समन्वय पनि बढी हुनुपर्छ । तीन तहको संरचना र तीन तहको संरचनामा हामी रहेका जनप्रतिनिधिहरुको बिचमा सहकार्य र समन्वयको पनि त्यत्तिकै आवश्यकता छ ।,’’ मन्त्री लेखीले भन्नुभयो, ‘‘यो कुरालाई ध्यानमा राखेर हाम्रो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नकै लागि हामीले बाराको कलैयाबाट सप्तरीको सप्तकोशीबाट हामीले सुरुवात गरिसकेका छौँ । कतिपय कार्यक्रम स्थानीय तहको र हाम्रो मन्त्रालयको सहकार्यमा हामीले सुरु गरेका छौँ ।’’
मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम सुरु गरिसकेको बताउनुभयो ।