• १० माघ २०८१, बिहिबार

सिद्धार्थ राजमार्गको पहिरो रोकथाम सुरु

blog

सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोलास्थित पहिरो र भासिएको क्षेत्र । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, माघ ८ गते । सिद्धार्थ राजमार्गको तिनाउ–५, हिउँदेखोला क्षेत्रको भासिएको सडक निर्माण सुरु गरिएको छ । राजमार्गको हिउँदेखोला क्षेत्रमा खसेको पहिरो र भासिएको सडक मर्मत गर्न काम सुरु गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

तीन वर्षअघिदेखि माथिबाट खसेको पहिरो रोकथाम र तल्लो क्षेत्रमा भासिएको सडक जोगाउन ग्याबिन जाली पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङ प्रविधिबाट सबबेस बनाउने काम सुरु गरिएको हो । हिउँदेखोला क्षेत्रको झन्डै एक सय मिटर सडकमा माथिबाट पहिरो खसेर सवारीसाधन गुडाउन जोखिम छ । 

यस्तै तल्लो क्षेत्रबाट पनि सडक भासिएर सडकको भाग कटान भइरहेको छ । अहिले पनि उक्त क्षेत्रमा एकतर्फी मात्र सडक सञ्चालन छ । बर्सातमा सडक भासिएपछि प्लास्टिक लगाएर पहिरो रोक्ने काम गरिएको थियो ।

माथिबाट खसेको पहिरो रोक्ने र तल्लो क्षेत्रको सडक भासिनबाट रोक्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । सडकको भित्री भागमा पानी जमेको र त्यसलाई प्वाल बनाएर सडकको भित्री भागबाट पानी निकाल्ने व्यवस्था गरिने गौतमले जानकारी दिनुभयो । 

सडक विभागले खटाएको विज्ञको प्रतिवेदनका आधारमा दिगो समाधान हुने गरी काम सुरु गरिएको उहाँले बताउनुभयो । गौतमले भन्नुभयो, “विज्ञको प्रतिवेदनका आधारमा अनुमान गरी सडक निर्माण थालेका छौँ । यो काम सकेपछि यस क्षेत्रको समस्या समाधान हुन्छ भन्नेमा ढुक्का छौँ ।” हिउँदे खोला क्षेत्रमा सडकको सतहमै पानी बग्ने र बर्सातमा उक्त पानी बढी भएर पहिरो जाने र सडक भासिने गरेको विज्ञको निष्कर्ष छ । 

यो वर्ष पहिरो र भासिने सडकको जोखिम रोक्न मात्र काम हुने छ । अर्को वर्षको बर्सातपछि अवस्था हेरेर मात्र त्यस क्षेत्रमा कालोपत्रेको काम गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

यस वर्ष त्यस क्षेत्रमा सडकको काम गर्न एक करोड ९७ लाख ८२ हजार रुपियाँको ठेक्का गरिएको छ । निर्माण कम्पनी आइडी कन्स्ट्रक्सन कास्कीले भ्याटसहित एक करोड ७७ लाख २८ हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको हो ।

यसअघि अघिल्लो वर्ष पनि सो क्षेत्रमा ग्याबिन लगाउने, सडक चौडा पार्ने तथा जाली भर्ने काम गरिएको थियो । समस्या समाधान नभएपछि यो वर्ष नयाँ प्रविधि अपनाएर भासिएको सडक र पहिरो रोकथामको काम सुरु गरिएको सडक डिभिजनले जनाएको छ । सो क्षेत्रमा माथिपट्टि चुनढुङ्गा खानी सञ्चालनमा छ भने तल्लो भागमा हिउँदे खोला क्षेत्र रहेको छ ।