विजयकुमार साह
ढल्केबर, माघ ७ गते । धनुषामा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका छन् । धनौजी गाउँपालिका–४, भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट ९ एमएम बाउनिङ् पेस्तोल बरामद गरेको बताइएको छ । उनीहरूको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोलीसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।