• १० माघ २०८१, बिहिबार

रौतहटमा चिसाेबाट बच्न दाउरा वितरण

blog

ट्याक्टरबाट दाउरा वितरण गर्दै गरुडा नगरपालिका । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, माघ ७ गते । चिसोको कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक स्थल र चोक चोकमा दाउरा वितरण गरेको छ ।  

करिब दुई साता अघिदेखि बढेको अत्यधिक जाडो र शीतलहरले कठ्याङ्ग्रिएका विपन्न तथा सर्वसाधारण नागरिकलाई जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो । 

पालिका प्रमुख कन्थमणीप्रसाद कलवारले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराउनुभएको छ । उहाँ भन्नुहुन्छ, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल, मठमन्दिर चोक चौराह र प्रहरी चौकीलगायतका स्थानमा वितरण गरिएको छ । जाडोबाट जोगाउन पुसको अन्तिम साता पालिकाका अति विपन्न एवम् दलित परिवारका करिब एक हजार दुई सय जनालाई कम्बलसमेत वितरण गरिएको छ ।”

शीतलहरले घामको मुहार देख्न नपाएर जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिकाले अघिल्लो साता नै आफ्नो सबै वडामा दाउरा वितरण गरेको थियो ।