नवलपरासी समाचारदाता
बुलिङटार, माघ ७ गते । बुलिङटार गाउँपालिका–१, हात्तीगौँडाका बासिन्दा गाउँपालिकाको सेवा केन्द्र पुग्न १२ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यताले हैरान भएका छन् ।
राज्य पुनर्संरचनाले गाउँ विकास समितिबाट गाउँपालिका बनेपछि स्थानीय सरकारले हरेक पालिकाको सेवा केन्द्र पालिका रहेको ठाउँलाई बनाएको छ । पालिका केन्द्रबाट सेवा दिने भएपछि विगत सात वर्षदेखि सेवा केन्द्र पुग्न १२ घण्टा हिँड्नुपर्ने बाध्यताबाट हात्तीगौँडा गाउँका २८ घरपरिवारले मुक्ति नपाएको स्थानीय हरिबहादुर थापामगर बताउनुहुन्छ ।
बुलिङटार गाउँपालिका–१, हात्तीगौँडा गाउँ महाभारत पर्वतसँग जोडिएको छ । पालिकाको सबैभन्दा उच्च भागमा रहेको यो गाउँको उत्तरतर्फको भूभागमा अझै मोटरबाटोले जोडिन सकेको छैन । दक्षिण तराईसँग भने मोटरबाटोले यो गाउँ जोडिएको छ तर आफ्नो गाउँको पालिकासँग भने कहीँ कतै कुनै सम्पर्क हुन नसकेको थापाले बताउनुभयो ।
हात्तीगौँडा गाउँ पहिले कोटथर गाविसको वडा नं. ८ मा पर्दथ्यो । गाविस हुँदा पाँच घण्टा हिँडेर काम गर्न र काम गरेर रातसाँझमा घर फर्किन सकिन्थ्यो तर अहिले पालिका बनेपछि पालिकामै गएर काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर काम गरेर घर फर्किन नभ्याइने स्थानीय समाजसेवी चेसराम आलेमगरले बताउनुभयो । विकासका लागि गाउँपालिकामा गएर रकम माग्नै छाडिसकेको बताउँदै उहाँले विकेन्द्रीकरणको कुरा गरेर नथाक्ने हामी केन्द्रीकृत अवस्थामा छौँ भन्दै उहाँले गुनासो गर्नुभयो ।
गाउँमा हरेक प्रकारका समस्या रहेको बुलिङटार–१ का वडा सदस्य लालबहादुर गर्जामगरले बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, बाटोको समस्यासँग यहाँका स्थानीय जुध्दै आएका छन् । कुनै काम लिएर पालिकासम्म पुगेर काम गर्न फलामको चिउरा चपाउनु जस्तै बनेको उहाँको भनाइ छ । सम्झौतादेखि रकम निकासासम्म काम गर्दा दैनिक १२ घण्टा हिँडेर पालिकासम्म पुग्नुपर्ने बाध्यताले हैरान बनाएको पालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो ।
सडक सञ्जालले पालिकालाई नछोएको बुलिङटार–१ को हात्तीगौँडा गाउँ र बुलिङटार–४ को घरेलुडाँडा गाउँ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय बासिन्दालाई दुःख दिने पालिकाको नियत होइन तर पालिकासँग सडक सञ्जाल जोड्न पालिकाको बजेट मात्रै पनि पर्याप्त नभएकोले चाहेको जति काम गर्न नसकिएको हो ।”
अहिले प्रदेश सरकारले त्यहाँ सडक सञ्जालले जोड्ने गरी बजेट विनियोजन गरी ठेक्का लगाउने काम भइरहेको सांसद महेन्द्रध्वज जिसीले बताउनुभयो ।