तनहुँ समाचारदाता
तनहुँ, माघ ७ गते । तनहुँको देवघाट गाउँपालिका–५, देवघाटधामको दर्शन गर्न जाने भक्तजन तथा स्थानीयलाई पक्की पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । बर्सौंअघि बनेको झोलुङ्गे पुल जीर्ण हुनु तथा पक्की पुल नहुँदा सास्ती भए पनि समाधानका लागि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । चितवनको भरतपुरबाट तनहुँको देवघाट गाउँपालिका जाने त्रिशूली नदीको झोलुङ्गे पुल मर्मतका लागि केही दिन बन्द हुँदा विकल्पमा लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने उक्त झोलुङ्गे पुल मर्मतका लागि शुक्रबारबाट बन्द गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सूचना प्रकाशित गरी पुल जीर्ण रहेकोले मर्मतका लागि बन्द गरिएको जनाइएको छ ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक ललितपुरबाट खटिई आएका प्राविधिकबाट मर्मत कार्य भइरहेको हुँदा पुल मर्मतका लागि माघ ४ गतेदेखि मर्मत कार्य पूरा नहुँदासम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनका लागि पुल मर्मत कार्यमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको छ ।
२०३७ सालमा निर्मित यो झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । दैनिक हजारौँ जना आवतजावत गर्ने उक्त पुलको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । पुलबाट स्थानीय तथा तीर्थयात्रीसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने कार्यकारी निर्देशक बराल बताउनुहुन्छ । मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौँ स्थानीयले दैनिक मोटरसाइकलसमेत वारपार गर्ने गरेकाले पुल जीर्ण हुँदै गएको छ । माघेसङ्क्रान्ति, शिवरात्रि, बालाचतुर्दशी जस्ता धार्मिक पर्वमा एकै दिन लाखौँ भक्तजनले उक्त पुलमार्फत आवतजावत गर्छन् । नदी लामो भएकाले पालिकाको बजेटले निर्माण गर्न नसक्ने हुँदा सङ्घ तथा प्रदेश सरकारले सहयोग गरेर पुल निर्माण गर्नुपर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउनुहुन्छ ।