• १० माघ २०८१, बिहिबार

लोकसंस्कृति प्रवर्धन गर्न महोत्सव

blog

मलेखु (धादिङ), माघ ७ गते । मौलिक लोकसंस्कृतिको प्रवर्धन गर्न माघ १० देखि २० गतेसम्म धादिङमा पहिलो पटक लोकसांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । जिल्लाको परम्परागत मौलिक लोकसंस्कृतिको प्रवर्धन, सांस्कृतिक पहिचानको प्रवर्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले जानकारी दिनुभयो । 

कलाकारको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो । मौलिक लोकसंस्कृति, लोकदोहोरी, मेन्दोमाया, कौरा, चुड्का, घाटु, बालन, ठाडो भाकादेखि खैँजडी भजन, नौमती र झ्याउरे गीतलगायत प्रचलित सांस्कृतिक पहिचान र प्रतिभा हेर्न पाइने छ ।

महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठ्यारो परेका बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरी ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सामुदायिक सञ्चार तथा विकास केन्द्रले आयोजना गरेको महोत्सवमा अन्तरपालिका लोकदोहोरी प्रतियोगिता प्रमुख आकर्षण बन्ने छ । मौलिक र जातीय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको प्रतिष्ठानका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो । एक सय वटा स्टल राखिने महोत्सवबाट  तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको छ । ‘लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।