• १० वैशाख २०८२, बुधबार

मूल्यवृद्धि र कालोबजारीको विरोध

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ७ गते । निर्माण गरेको कामको भुक्तानी नपाएको सहित पछिल्लो समय निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थको मूल्यवृद्धि नहुँदासमेत सिमेन्ट, फलामे डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि र कालोबजारी गरेको भन्दै निर्माण व्यवसायी आन्दोलित बनेका हुन् । 

बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घ र निर्माण व्यवसायी सङ्घले मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार छुट्टाछुट्टै ज्ञापनपत्र पठाउँदै निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि नियन्त्रण, निर्माण गरेको कामको भुक्तानी, विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका माग गरेका छन् । 

बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निर्माण व्यवसायी सङ्घले मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएका हुन् ।

सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चापदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ एवं कालोबजारी गरी विगत एक महिनाको अवधिमा पटक पटक गरी सिमेन्टमा प्रतिबोरा दुई सय र डन्डीमा प्रतिकेजी १५ रुपियाँभन्दा बढी मूल्यवृद्धि गरेका निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

साथै मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको भन्दै उक्त मूल्यवृद्धि खारेज गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ । कालोबजारी तथा कार्टेलिङमा संलग्नलाई कानुनी कारबाही गर्न र निर्माण व्यवसायीलाई तत्कालका लागि शून्य भन्सारदरमा सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री आयातको व्यवस्था गर्न निर्माण व्यवसायीका छाता संस्थाले माग गरेका छन् । 

सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएका म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैङ्कबाट निर्माण व्यवसायीलाई ऋणमा दिएको सुविधा कटौती, निर्माण आयोग गठन, लो बिडिङलाई निरुत्साहित गर्नुपर्नेलगायतका १४ बुँदे ज्ञापनपत्रमा आफ्ना माग पूरा नभएमा चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ ।

बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष उमानन्द कँडेलको नेतृत्वमा गएको टोलीले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत र निर्माण व्यवसायी सङ्घले मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । 

उहाँले निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी माग गर्नुपर्ने भन्दै सिमेन्ट उद्योगसँग सिमेन्टको मूल्यवृद्धि गर्नुको कारण माग गरी पत्राचार गरिएको जानकारी दिनुभयो ।