कबिराज घिमिरे
हिले, माघ ६ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जराकेन्द्रित अभियानको उदघाटन गर्दै महासचिब पोखरेलले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न पनि एमाले र कांग्रेश मिल्नुपरेको बताउनुभयो । उहाँले नेपाललाई कमजोर बनाउन एमालेमाथि प्रहार भइरहेको बताउँदै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले सामाजिक सञ्जाल गलत मान्छेको हातमा दुरुपयोग भइरहेको बताउँदै एमालेमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताउनुभयो । उहाँले सिपी मैनालीले पार्टी छोड्दा, नेता मदन भण्डारीको हत्या हुँदा, २०५४ सालमा पार्टी फुट्दा पार्टीलाई कमजोर बनाउन सक्रिय तत्व असफल भएको उहाँले बताउनुभयो । एमाले कमजोर नभइ थप बलियो भएको उहाँको भनाइ छ ।
उहाँले सरकारले अध्यादेशमार्फत देशमा सुशासनको प्रयाभूति दिएको बताउँदै उहाँले यो सरकार जनताका लागि बनेको प्रमाणित भएको बताउनुभयो । उहाँले कांग्रेस र एमालेले दलीय संयत्र बनाएर जनताको काम गरिरहेको दाबी गर्नुभयो ।