जनार्जन खत्री
सर्लाही, माघ ६ गते । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा जङ्गली हात्तीले घरका बेराघेरा भत्काउने र खेतमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार दिनदेखि देखापरिरहेका तीन वटा जङ्गली हात्तीले जानकी नगरका बासिन्दालाई आतङ्कित पारेको हो ।
हात्तीले चार दिनको अवधिमा तीन वटा घर भत्काइसकेको छ । आइतबार बिहान मात्रै जानकीनगर साझेदारी वन नजिक पर्ने प्रेमबहादुर लामा र केशव उप्रेतीको घरमा हात्ती आएर घरका बेरा भत्काइदिएको स्थानीयले बताएका छन् । यसअघि शुुक्रबार राति हात्तीको समूहले स्थानीय तुलमाया मगरको घरका बेराघेरा भत्काइदिएको थियो ।
हात्तीले स्थानीय किसानले दुुई बिघा भन्दा बढी जग्गामा लगाएको उखुु, गहु, मकैलगायतका बालीनाली नष्ट पारिसकेको हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानीबाबुु थापाले जानकारी दिनुुभयो । समूहमा रहेका जङ्गली हात्ती नियन्त्रण गरिदिन माग गर्दै डिभिजन वन कार्यालयमा हारगुहार गरे पनि कुनै उपाय नलागेको वडाध्यक्ष थापाको भनाइ छ ।
रात पर्नासाथ बस्तीमा हात्ती आएर उपद्रो सुरु गर्ने गरेकाले स्थानीय वासिन्दाले बस्तीभरका बिजुलीको पोलमा बत्ती जडान गरिदिन माग गरेपनि विगत तीन महिनादेखि नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट सञ्चालन हुन नसकेका कारण हात्ती प्रभावित गाउँलाई उज्यालो पार्नधरी नसकिएको वडाध्यक्ष थापाको भनाइ छ । हात्तीको समूह दिनभर नजिकको जङ्गलमा बस्ने र रात पर्नासाथ मानव बस्तीमा छिरेर घरका बेरोघरा भत्काइदिने, भण्डारण गरेर राखिएको अन्न खाइदिने र खेतमा लगाएको बाली नष्ट गर्ने गरेको स्थानीयले बताएका छन् ।
चार दिनदेखि जानकी नगरको जङ्गलमा हात्ती आएर बसेपछि जानकी नगरसहित मुर्तिया, घुर्कौलीलगायत जङ्गल आसपास रहेका बस्तीमा त्रास सिर्जना भएको छ । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले बर्सेनि आइरहने जङ्गली हात्तीलाई नियन्त्रण गर्न वन कार्यालय वा निकुुञ्जले केही गर्न सक्ने अवस्था नरहेको बताउनुुभयो ।
उहाँले हात्तीलाई जथाभावी नजिस्काउन र सुरक्षित भएर बस्न स्थानीयसँग आग्रह गर्नुभएको छ । हात्तीले घर वा अन्नबालीमा क्षति पुुर्याए नियमानुसार क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख झाको भनाइ छ ।
आफ्ना पुर्खा हिँड्ने बाटो हिड्ने जनावरमा पर्ने हात्ती सर्लाहीको जानकी नगर, लालबन्दी, फूलजोर, सागरनाथलगायतका जङ्गली क्षेत्रमा बर्सेनि आएर पुनः विभिन्न निकुञ्जतर्फ फर्किएर जाने गरेका छन् ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                