जीवछ यादव
लहान, माघ ६ गते । लहान नगरपालिका ११ र १४ नं. वडाको सिमानामा पर्ने दलित (राम) बस्तीका स्थानीयहरुलाई शीतलहरबाट जोगिन लहान नगरप्रमुख महेशप्रसाद चौधरीले ८० थान न्यानो कम्बल वितरण गर्नुभएको छ ।
आइतबार बिहानै शीतलहर चलेकै समयमा ८० घर परिवार रहेको राम बस्तीका ज्येष्ठ नागरिकहरुलाई शीतलहरबाट जोगाउन कम्बल वितरण गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो, "लहान नगरपालिकाको २४ वटै वडाहरुमा १९ हजार दलित समुदायको जनसङ्ख्या छ । दलित विपन्न समुदायहरुलाई शीतलहरबाट जोगाउन न्यानो लुगा र आवश्यकताको आधारमा खाद्यान्नसमेत दिइने गरी नगरपालिकाको तयारी छ ।"
यसभन्दाअघि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा आउने दलित विपन्न समुदायहरुलाई शीतलहरबाट जोगिन ६५ थान कम्बल वितरण गरिसकेको बताउनुभयो । उहाँले थप्नुभयो, "सहरी क्षेत्र नजिकमा रहेका दलित विपन्न बस्तीहरुमा तत्कालै दाउरा सवतरण गर्ने काम भएको छ । जोखिम व्यवस्थापनको लागि लहान नगरपालिका विशेष तयारी अवस्थामा रहने गरेको छ ।"
बिहान बेलुका अत्यधिक शीतलहरको महसुस गर्न थालेपछि नगरपालिकाका ५९ वटै सामुदायिक विद्यालय पाँच दिनका लागि बिदा गरिएको शिक्षा शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिँदै विस्तारै गर्मी र चिसोबाट जोगिन सामुदायिक विद्यालयहरुलाई जस्तापाता(टिना)मुक्त भवन निर्माणमा जोड दिएको बताउनुभयो ।
शीतलहरको चपेटामा प्रायजसो विपन्न दलित बस्तीहरु पर्ने गरेकोले शीतलहर आउनुभन्दा आगाडि नै न्यायो लुगा वितरण गर्न जिल्लामा १७ वटै पालिकाहरु मिलेर साझा कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको सिराहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोले बताउनुभयो । उहाँले प्रष्ट्याउनुभयो, "जेखिम र विपद वयवस्थापनको लागि पूर्व तयारीको लागि जिल्ला स्तरीय र स्थानीय स्तरमा गठन भएको जोखिम नियणन्त्रण विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनु आवश्यक छ । यसको लागि आफूले प्रभावकारी समन्वय गरिरहेको छु ।"