सर्लाही समाचारदाता
सर्लाही, माघ ६ गते । सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित पचगछियामा आयोजित थारू सांस्कृतिक नृत्य प्रतिस्पर्धामा थारू कल्याणकारी गाउँ एकाइ हरिभवन पहिलो भएको छ । प्रतियोगितामा थारू वेशभूषासहित उत्कृष्ट नृत्य प्रस्तुत गर्ने लालबन्दी–४ मा गठित हरिभवन गाउँ एकाइ पहिलो बन्न सफल भएको हो । हरिभवनलाई पुरस्कारस्वरूप २० हजार पाँच सय रुपियाँ नगदसहित दुई तोला चाँदी र कप प्रदान गरिएको आयोजक थारू कला संस्कृति आयोजक समिति पचगछियाले जनाएको छ ।
यस्तै थारू सांस्कृतिक नृत्यमा दोस्रो हुने थारू कल्याणकारी गाउँ एकाइ हरिपुर–७, पचगछियालाई १५ हजार पाँच सय रुपियाँ नगद तथा एक तोला चाँदी र तेस्रो हुने थारू कल्याणकारी गाउँ एकाइ ईश्वरपुर–१, पोखरीलाई १० हजार पाँच सय रुपियाँ नगद र आधा तोला चाँदी प्रदान गरिएको आयोजकका अरविन्द चौधरीले जानकारी दिनुभयो ।
नृत्य प्रतियोगितामा सहभागी अन्य गाउँ एकाइलाई ५०५ रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा थारू डाला डलिया प्रतियोगितामा पहिलो हुने मीना देवीलाई पाँच हजार पाँच रुपियाँ, दोस्रो हुने श्रेया चौधरीलाई तीन हजार पाँच रुपियाँ र तेस्रो हुने कृष्ण चौधरीलाई दुई हजार पाँच रुपियाँ प्रदान गरिएको थियो । डाला डलियामा पहिलो, दोस्रो र तेस्रो हुने तिनै जना हरिपुर–७, पचगछियाका स्थानीय हुन् ।
डाला डलियामा समेत सहभागी सबैलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको थियो । थारू सांस्कृतिक नृत्य र डाला डलिया प्रतिस्पर्धासँगै पचगछियामा माघ २ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय तिला सङ्क्रान्त (माघी) महोत्सवको समापनसमेत गरिएको कार्यक्रममा सहभागी नाथुराम चौधरीले बताउनुभयो ।