• ५ माघ २०८१, शनिबार

सीमा अपराध निरुत्साहन गर्न पहल

blog

डिआइजी स्तरीय बैठक । तस्बिर: सशस्त्र प्रहरी

जानु पाण्डे

कपिलवस्तु, माघ ५ गते । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तथा दशगजा क्षेत्रमा संयुक्त निगरानी गर्ने योजना बनाउँदै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बिच डिआइजी स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार बसेको बैठकको नेतृत्व सशस्त्र प्रहरी नं. ५ बाहिनी मुख्यालय चन्द्रौटाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदीपकुमार पाल तथा भारतका सेक्टर हेडक्वार्टर लखीमपुर खेरीका डिआइजी बी. विक्रमन र सेक्टर हेडक्वार्टर गोरखपुरका डिआइजी मुन्ना सिंहले गर्नुभएको हो ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरूको समयमै मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाउन संयुक्त प्रयास, सीमा क्षेत्रको सफाइ तथा सौन्दर्यीकरण, मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, लागू औषध र वन्यजन्तु तस्करी नियन्त्रण, तथा तेस्रो देशका नागरिकहरूको गैर कानुनी प्रवेश रोक्ने विषयमा गहन छलफल गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक [डिआइजी] प्रदीपकुमार पालले बताउनुभयो ।

त्यस्तै, नेपाल–भारत सशस्त्र सुरक्षा बलहरूबिच दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद र विविध अभ्यासलाई निरन्तरता दिने सहमति भएको छ । पाल्पा जिल्लाको तिनाउ–३ स्थित लुम्बिनी केबलकार बुटवल हिलमा बसेको बैठकमा सशस्त्र प्रहरीका १२ जना अधिकारी र भारततर्फ १८ बटालियन कमान्डरहरूको सहभागिता रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले बताउनुभयो ।

बैठकमा वरिष्ठ उपरीक्षक तिउसिनाले स्वागत मन्तव्य राख्दै नेपाल–भारत खुला सीमासम्बन्धी समस्या, चुनौती तथा समाधानका उपायबारे प्रस्तुति दिनुभएको थियो । उहाँले यस प्रकारका नियमित बैठकहरूले सीमा क्षेत्रमा देखिने समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।