ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, माघ ५ गते । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन पुग्न थालेका हुन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ओलाङचुङ्गोला हुँदै द्विदेशीय सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेको हो । वर्षायाममा बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको तमोर कोरिडोर मर्मत गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याउन सम्भव भएको हो । अहिले यात्रुवाहक जिप, ट्याक्टरलगायतका साधन टिपतालासम्म पुग्न थालेका हुन् ।
हिजोआज टिपताला क्षेत्रको भ्रमणमा जानेहरू सवारीसाधन चढेरै सिमानासम्म पुग्न थालेका ओलाङचुङ्गोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिपतालासम्मको खण्डमा बाढीपहिरोले क्षति गरेको ठाउँमा मर्मतसम्भार गरिएको छ । ठाउँ ठाउँमा भएको खाल्टाखुल्टी पुर्नुका साथै खोला तथा खोल्सा रहेको भागमा ह्युमपाइप राखेर सवारीसाधन चलाउन मिल्ने गरी सडक मर्मत गरिएको हो ।
यता टिपतालासम्म सवारीसाधन पुग्न थालेपछि तीन दिनमै सदरमुकाम फुङ्लिङ–टिपताला ओहोरदोहोर गर्न सकिने भएको छ । भर्खरै फुङ्लिङका व्यवसायीको एक टोली सवारीसाधनमार्फत टिपताला पुगेर तीन दिनमै सदरमुकाम फर्किएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको टोली फुङ्लिङबाटै सवारीसाधनमार्फत टिपताला पुगेर फर्किएको हो ।
अध्यक्ष थापाका अनुसार एक दिनमा ओलाङचुङ्गोला पुगिने र अर्को दिन टिपताला पुगेर ओलाङचुङ्गोला आइपुगिन्छ । टिपताला गएको टोली तेस्रो दिन ओलाङचुङ्गोलादेखि फुङ्लिङ फर्किएको जानकारी थापाले दिनुभयो । उहाँका अनुसार पानी र हिलो भएको ठाउँमा सवारी सञ्चालनमा केही समस्या हुनेबाहेक सहज रूपमा फुङ्लिङदेखि गाडी चढेर टिपाताला पुग्न सकिन्छ ।
ओलाङचुङ्गोला खण्ड अन्तर्गत सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा तमोर नदीमा पक्की पुल निर्माण गरिए बर्खामा पनि गाडी चढेर टिपताला पुग्न सकिने ओलाङचुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाको भनाइ छ । उहाँका अनुसार पुल नबनेसम्म हिउँदमा मात्र गाडी चलाउन सकिन्छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार सुकेपानीमा बेलिब्रिज निर्माण गर्ने गरी ठेक्का आह्वान भइसकेको छ ।
अध्यक्ष लिम्बूले टिपतालासम्म नियमित सवारीसाधन सञ्चालन गर्न जोङ्गिन र ओलाङ्चुङगोला बस्तीमुनि तमोर नदीमा मोटर गुड्ने पुल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । सो क्षेत्रभन्दा माथि ठाउँ ठाउँमा व्यवस्थित रूपमा ह्युमपाइप राख्नुपर्ने पनि उहाँले बताउनुभयो । यसरी टिपताला जोड्ने तमोर कोरिडोर नियमित सञ्चालन हुन सक्ने स्तरको बनाएमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र यसले पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष लिम्बूको भनाइ छ ।
यसअघि गत मङ्सिर अन्तिम साता तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबिच भएको अन्तरदेशीय सीमा सुरक्षा बैठकका व्रmममा तिब्बत सरकारले टिपतालादेखि फुङ्लिङसम्म कालोपत्रे गरिदिन सक्ने उल्लेख गरेको छ । जिटुजी (सरकार–सरकार) मार्फत नेपालका तर्फबाट प्रस्ताव आए तिब्बतले सडक कालोपत्रे गरिदिने वचन दिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार तिब्बतसँग भएको अन्तरदेशीय बैठकमा उठेको विषयबारे गृह मन्त्रालयमा जानकारी भइसकेको छ ।