• ५ माघ २०८१, शनिबार

धनुषाधामवरपरको महिमा

blog

मधेश प्रदेशको राजधानी जनकपुर (धनुषा जिल्ला) को धनुषाधाममा माघेसङ्क्रान्तिका दिन भव्य मेला लाग्ने गरेको छ । हिन्दु धर्मग्रन्थ वाल्मीकि रामायण र तुलसीकृत रामायणमा यस तीर्थको धार्मिक तथा पौराणिक चर्चा गरिएको पाइन्छ । 

धार्मिक ग्रन्थका अनुसार भगवान् रामचन्द्र धनुष यज्ञमा सहभागी भई पिनाक धनुष वाण उठाएर ताँदो चढाउन खोज्दा भाँचिएको धनुषको एक टुक्रा खसेको ठाउँ नै धनुषाधामका रूपमा विकास भएको हो । त्रेतायुगमै मिथिला राज्यका महर्षि राजा जनकका दरबारमा रहेको पिनाक नामको शिवधनुष सीताले उचालेर अर्का ठाउँमा राखी लिपपोत गरी सबैलाई चकित पारेकी थिइन् ।  त्यसैबेला राजा जनकले जसले यज्ञमा यो धनुष चलाउन सक्छ, उसै वीर पुरुषसँग सीताजीको स्वयंवर पनि गरिने निधो गरे । शुभ विवाहपञ्चमीमा राजा जनकको कबुल तथा प्रतिज्ञा अनुसार धनुष यज्ञ समारोह गरिएको थियो । त्यस समय अयोध्याका महाराजा दशरथ पुत्र रामले धनुष उचाल्दा तीन टुक्रा भएको थियो । त्यही धनुषको टुक्राका रूपमा धनुषाधामवरपर २०/३० मिटर लम्बाइको दुरीमा धातुका टुक्रा जस्तै चार/पाँच फिट फराकिला चट्टान छरिएका छन् । पूर्वपश्चिम दिशामा छरिएको यस्तो चट्टान तराई भूमिमा प्राप्त हुनु आफैँमा एउटा आश्चर्यको विषय पनि हो । यस स्थानमा रामसीता विवाहको मूर्ति स्थापना गर्ने योजनासमेत रहेको बताइन्छ । 

धनुषाधाममा माघ महिनाभरि नै प्रत्येक आइतबार तथा मङ्गलबार मकर मेला लाग्छ । प्रत्येक मकरमा हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । यहाँका धनुष मन्दिर, बालगङ्गा सरोवरलगायत चटीबाबाको धार्मिक देवस्थल पनि उति नै प्रसिद्ध र लोकप्रिय छ । यो मेलामा तेजपातको व्यापार हुने गरेको छ । मसलाका रूपमा उपयोग गरिने तेजपात पहाडी जिल्लाबाट यहाँ ल्याएर थोक तथा खुद्रा बिक्री गर्ने गरेको पाइन्छ । अचेल चटीबाबाको कुटीमा स्थानीय युवाको पहलमा घिउ खिचरीका विशाल पन्डाल लगाई भण्डारा पनि गराइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सानो जङ्गल रहेको यस स्थानमा यसै समय शैक्षिक भ्रमण, घुमघाम र वनभोजका लागि भक्तजन, युवा, विद्यार्थीको आवागमन बढ्ने गरेको छ ।

मधेशमा माघी पर्वको विशेष अर्थ र महत्व छ । यस दिन खास गरी नदी, सरोवरमा स्नान गरेर सूर्यलाई जल अर्पण गरेपछि तिलको लड्डु, तरुल, चाकु तथा विभिन्न कन्दमूल खाने गरिन्छ । घिउमा खिचरी पकाई पवित्रताका साथ भगवान्को भोग लगाई प्रसादका रूपमा सबै परिवार मिलेर ग्रहण गर्ने चलन पनि छ । यस दिन दानपुण्य गरेमा झन् लाभ हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता छ । चिसोबाट बच्न तिल, गुड तथा घिउका परिकार बनाई तिलाठी (तिलका सुकेका झारपात) बालेर घुर तापिन्छ । एकआपसमा मिलेर यो चाडपर्व मनाइने भएकाले यसले सद्भावको भावना जागृत गराउँछ । 


धनुषाधामवरपर परशुराम तलाउ, मिथिला विहारी धार्मिक स्थलले समेत पर्यटकलाई आकर्षित गर्ने गरेको छ । धनुषाधामका पुरणदाहा गाउँको पूर्व र मतलेश्वरका उत्तरपूर्वीय कुनामा सानो झाडी, कुटी र तलाउ छ । यस धार्मिक स्थलमा सुन्दर सरोवर, धार्मिक आश्रम तथा परशुराम भगवान्को विशाल मूर्तिलगायत देवी दुर्गाको मन्दिर र शिवालय रहेको छ । भगवान् शिवका परम भक्त परशुराम ऋषिका नाममा परशुराम तलाउ रहेको छ । यहाँको धार्मिक महत्वको वर्णन धार्मिक तथा पौराणिक ग्रन्थहरूमा समेत गरिएको छ । 

जनकपुरबाट धनुषाधाम जाने सडकको पूर्व दाहिनेतर्फ ठेराकचुरी अथवा तारापटिकचुरी गाउँमा मिथिला विहारी धार्मिक स्थल छ । मिथिला विहारीका डोलासहितका विशाल द्वारले अतिथिको स्वागत गरिरहे जस्तो लाग्छ । त्यहाँ एउटा विशाल आश्रम (कुटी, मठमन्दिर) छ । यसको पछाडि विशाल सरोवर पनि छ । यस धार्मिक स्थलमा धनुषाको १५ दिने ‘मिथिला माध्यमिकी परिक्रमा’ लाग्छ; जुन महाशिवरात्रिको भोलिपल्टबाट शुभारम्भ हुन्छ । त्यो यात्रा यहीँबाट सुरु हुन्छ । ‘माध्यमिकी धार्मिक तीर्थयात्रा’ विश्वकै सबभन्दा लामो र विशाल धार्मिक तीर्थयात्रामध्ये पर्छ । यो यात्रामा भारत र नेपालका सिमानासित जोडिएका ठुलठुला १५ धार्मिक स्थलमा भ्रमण र तीर्थाटन गरी सम्पन्न गरिन्छ । यो यात्रा मिथिला विहारीबाट सुरु भई जनकपुरधाममा समापन हुन्छ ।