रमेश विश्वकर्मा
गुल्मी, माघ ४ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।
चिदिचौर खेलमैदानमा सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले खेल र खेलाडीको क्षेत्रलाई उच्च प्राथमिकता राखेर आफूहरुले काम गरिरहेको बताउनुभयो । खेल अनुशासित र सभ्य ढंगले सम्पादित हुने क्षेत्र रहेको भन्दै यहाँबाट उत्पादित खेलाडीले विश्वका हरेक इतिहास रच्न सक्ने बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नगरस्तरीय खेलमा देखिएको उत्साहले तत्कालिन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डको झल्को दिएको बताउनुभयो । गुल्मीले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल भएको भन्दै उहाँले यो जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो ।
उद्घाटन समारोहमा विद्यार्थीले आकर्षक रुपमा मार्च पास तथा नृत्य र अर्जुन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले एरोविक डान्स प्रस्तुत गरेका थिए । मार्चपासमा अर्जुन आवासीय माध्यमिक विद्यालय प्रथम, ब्रिलियण्ट युनाइटेड एकेडेमी द्वितीय र लिटिल पब्लिक स्कुल तृतीय भएका छन् ।
माघ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रा र छात्र दौड, छात्र र छात्राबच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।