• १० माघ २०८१, बिहिबार

‘समृद्ध र सुखी सुखीपुर बनाउन लागेका छौँ’

blog

रामऔतार यादव नगरप्रमुख, सुखीपुर नगरपालिका, सिराहा

सिराहाको बिच भागमा पर्ने पुरानो हाटबजारको केन्द्रका रूपमा रहेको सुखीपुर सात वटा गाउँपालिका मिलेर विसं २०७३ मा नगरपालिकामा स्तरोन्नति भएको हो । नगरपालिका बनाउन सुखीपुर, मोहनपुर, कमलपुर, विधानगर, कुसहा, लक्ष्मीनियाँ, कविलासी, सिलोर्वापछवारी र बलही गाउँपालिकालाई मिलाइएको थियो । कुल ५४.७८ वर्ग किलोमिटरमा फैलिएको यस नगरपालिकामा १० वटा वडा रहेका छन् । यसको पूर्वमा लक्ष्मीपुर पतारी गाउँपालिका, उत्तरमा धनगडीमाई नगरपालिका, दक्षिणमा बरियारपट्टी गाउँपालिका र पश्चिममा अर्नमा गाउँपालिकासँग सिमाना जोडिएको छ । किसानको बाहुल्य रहेको यस नगरपालिकाको विकासका लागि ‘समृद्ध सुखीपुर र सुखी सुखीपुर’ को नारा दिएर २०७४ सालमा र २०७९ सालमा गरी दुई पटक नगरप्रमुख चुनिनुभएका रामऔतार यादव नेकपा एमालेको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । दोस्रो कार्यकालका लागि निर्वाचित नगरप्रमुख यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गरेको कुराकानी :  


ग्रामीण भेगमा रहेको सुखीपुर नगरपालिकाको विकासलाई के कसरी अगाडि बढाइरहनुभएको छ ? 

अहिले यहाँका १० वटै वडामा सडक सञ्जाल विस्तार भएको छ । यसले सुखीपुरलाई थप सुगम बनाइरहेको छ । करिब २७ किलोमिटर पिच सडक, २० किलोमिटर आरसिसी ढलान र ग्राभेल सडक बनेका छन् । सडक सञ्जालको विस्तारले यहाँको विकासलाई गति दिएको छ । यद्यपि केही वडामा पुग्न बर्सातको समयमा गागन नदीमा आउने बाढीले समस्या पारिरहेकै छ । त्यसको समाधानका लागि पुल निर्माण अत्यावश्यक छ । त्यसका लागि सङ्घीय सरकारबाट बजेट पनि आइसकेको छ । पुल निर्माण भएपछि यस क्षेत्रको सबै समस्या समाधान हुने छ । ग्रामीण भेगमा नाला निर्माण सरसफाइलाई गति दिएर सुन्दर सुखीपुर बनाउन  लागिरहेका छौँ । 

शिक्षा क्षेत्रमा के कस्तो प्रगति हुँदै छ ? 

 सुरुमा यहाँको सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन निकै ठुलो चुनौती रहेको थियो । म आफैँ पनि शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकाले सामुदायिक विद्यालयको सुधार गर्नुपर्ने आवश्यक्ता महसुस गरेको थिएँ । शिक्षाको विकास नभए समग्रमा विकास सम्भव हुँदैन भन्नेमा म स्पष्ट थिएँ । त्यसैले नगरपालिकामा रहेका २४ वटा सामुदायिक विद्यालयको सुधारका लागि निकै प्रयास गरियो । ती प्रयासबाट उत्साहजनक नतिजा आउन थालेको छ । छ वटा माध्यमिक विद्यालयमा ट्युसनको समेत व्यवस्था गरिएको छ । नियमित विद्यालय अनुगमन, शिक्षकको उच्च मनोबल, आवश्यक तालिम र अभिभावक सचेतना कार्यक्रमका लागि दुई करोड रुपियाँ वार्षिक बजेट विनियोजन गरेर शिक्षालाई सही मार्गमा ल्याएका छौँ । यस नगरपालिकामा रहेका जनता बहुमुखी क्याम्पस मोहनपुर, कमलपुर र रामजानकी बहुमुखी क्याम्पस सुखीपुर–८ मा  गुणस्तरीय शिक्षा र भौतिक रूपमा भवन निर्माणलाई गति दिएका छौँ । यस्ता कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीलाई सहरी क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य गर्न  सफल भएका छौँ । 

स्वास्थ्य सेवाको प्रवाहका लागि के कस्ता योजनासहित काम  गरिरहनुभएको छ ? 

यस नगरपालिकाका १० वटै वडामा आधारभूत स्वास्थ्य चौकी रहेका छन् । हरेक स्वास्थ्य चौकीमा आवश्यक उपकरणसहित दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराएर प्राथमिक उपचारको व्यवस्था गरिएको छ । नगरस्तरीय अस्पतालमा यसै वर्ष प्रदेश सरकारको सहयोगमा १५ शय्याको स्वास्थ्य सेवा केन्द्र स्थापना गरे सेवा प्रवाह सुरु भइसकेको छ । एमबिबिएसस्तरको चिकित्सक, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला उपलब्ध छ । नगरपालिकाले आवश्यक औषधी व्यवस्थापनका लागि बर्सेनि ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।  दलित विपन्न परिवारलाई थप उपचार गराउन जिल्लाबाहिर लैजानु परेको अवस्थामा सहयोगका लागि छुट्टै कोष राखेका छौँ । यहाँको स्वास्थ सेवा प्रभावकारी हुन थालेपछि वरपरका लक्ष्मीपुरपतारी, बरियारपट्टी, औरही र अर्नमा गाउँपालिकाबाट पनि बिरामी स्वास्थ्य उपचारका लागि आउन थालेका छन्  । 

यहाँका किसानका लागि कस्तो योजना ल्याउनुभएको छ ? 

नगरपालिकाले कृषि क्षेत्रको समग्र विकासका लागि सिँचाइको राम्रो प्रबन्ध गरेको छ । प्रत्येक १० कट्ठामा एउटा सिँचाइ मोटरको व्यवस्थापन, पायकपर्ने ठाउँमा मलखाद्यको व्यस्थापन गरेको छ ।  धान, तरकारी र अन्य नगदे बालीको उत्पादनका लागि आवश्यक कृषि तालिम र प्राविधिक तालिम नियमित रूपमा दिँदै आएको छ । बजार व्यवस्थापनमा ध्यान दिएर कृषकलाई आत्मनिर्भर बनाउन र कृषि मजदुरको उचित पारिश्रमिकका लागि समेत नगरपालिकाले पहलकदमी गरिरहेको छ । 

नगरपालिकाको लडकनहा, सलमपुर, छजना, कुसहा, दहिपौरी बलही, सुखीपुर बनिया पोखरियालगायतका ग्रामीण भेगमा कृषि हाटबजार व्यवस्थापन गरेको छ । नगरपालिकाले कृषिको विकासमा गरेको सहयोगले वैदेशिक रोजगारीमा जाने युवाको सोचलाई पनि परिवर्तन गर्न थालेको छ । उनीहरूले यहीँ आफ्नो भविष्य देख्न थालेका छन् । म स्वयं पनि १२ वटा भैँसीपालन र सात बिघामा माछापालन गरी आफ्नो परिवारको भरणपोषण गरिरहेको छु । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्ने हाम्रो योजना छ । अन्य क्षेत्रका कृषकसँग पनि यस नगरपालिकामा प्रयोग भएका प्रविधि र जैविक विधिबारे अनुभव आदानप्रदान गर्ने कार्यव्रmको सुरुवात गरिएको छ । 

नगरपालिकाले धान, गहुँ, रहर, मुसुरो र आलु, कोबी, भन्टा, गोलभेँडा उत्पादनको पकेट क्षेत्र तोकेर काम गरिरहेको छ । त्यस्तै पशुपालनका क्षेत्रमा पनि नमुना पालिका बनाउने योजना छ । 

पुरानो बजार सुखीपुर नगरपालिकाको केन्द्रमा रहेको छ । त्यसलाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

अहिले सुखीपुर बजारको मुहार नै फेरिएको तपाईंले पनि देख्नु नै भएको होला । सडक, पूर्वाधार, क्याम्पस, अस्पताल, नगरपालिकाको भवन, पशु सेवा केन्द्र र कृषि बजारका लागि बनाएको सेड र आधुनिक बजारको स्वरूप धारण गरेपछि सुखीपुर आउनेलाई पटक पटक आउन आकर्षण गरिरहेको छ । थप विकासको प्रयास भने अझै रोकिएको छैन । 

स्थानीय तहको न्यायिक समितिप्रति भने धेरैको असन्तुष्टि देखिन्छ नि ? 

यो प्रश्नले गम्भीर बनायो । न्यायिक समितिको कार्य सोचे अनुसारको प्रभावकारी हुन नसकेको हामीलाई पनि महसुस भएको छ । अब त्यसतर्फ सुधारक गर्नुपर्ने देखेर हामीले  नगरपालिकामा छलफल चलाइरहेका छौँ । दाइजो नियन्त्रण, बोक्सी आरोप जस्ता सामाजिक विकृतिको अन्त्य र लागुऔषध नियन्त्रणका लागि चेतनामूलक अभियानलाई निरन्तरता दिइने छ । 

विपन्न दलित बस्तीमा गरिने सामाजिक र सांस्कृतिक कार्यका लागि गर्नुभएका प्रयास के के छन् ? 

शीतलहरको समयमा न्यायनो लुगा वितरण गरिएको छ । विपन्न दलित बस्तीमा हुने सामाजिक सांस्कृतिक कार्यका लागि प्रत्येक वडामा पाँच÷पाँच वटासम्म सामुदायिक भवन निर्माण भएको छ । शुद्ध खानेपानीका लागि हरेक बस्तीमा हातेकल जडान गरिएको छ । यसबाहेक नगरपालिकामा आगो नियन्त्रणका लागि वारुणयन्त्र र स्वास्थ्य उपचारका लागि एम्बुलेन्स व्यवस्थापनमा नगरपालिका प्रदेश र सङ्घ सरकारबाट पहल थालिसकेका छौँ ।