• १० माघ २०८१, बिहिबार

मगर समुदायको 'थाली नाच'

blog

बेनीमा थाली नाच प्रदर्शन गर्दै कलाकारहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ ३ गते । करिब सात दशकअघि म्याग्दीको रघुगङ्गा गाउँपालिका, ७ चिमखोलाबाट सुरुवात भएको थाली नाच अहिले देश तथा विदेशमा लोकप्रिय बनेको छ । थाली नाचले मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा पहिचान बनाएको छ । 

थाली नाचले चिमखोलाको मात्र नभएर देशलाई नै विदेशसम्म चिनाउने काम गरेको छ । पेशा, रोजगारी र व्यवसायका क्रममा संसारभर पुगेका नेपालीहरुमाझ पनि थाली नाच उत्तिकै लोकप्रिय छ । चिमखोलावासी स्वर्गीय थमन पुनले वि.सं २००८ मा थाली नाचको सुरुवात गर्नुभएको थियो । उहाँले सुरुवात गरेको यो नाचलाई चिमखोलाकै हीरामाया पुन श्रीसले थाली नाचको प्रवर्धन र देशभर पुर्‍याउने काम गर्नुभयो । 

मगर समुदायको मौलिक पोसाक रातो चोली, कम्मरमा पहेँलो पटुकी, गलामा पहेँलो पोते, सेतो भाङ्ग्रा र छिटको गुन्युसहित चिटिक्क सजिएका कलाकारहरु गीतको लय र शब्दसँगै हातमा थाली राखेर नाच्दा निकै रोचक देखिन्छ । बेनीमा आयोजना हुने विभिन्न सभा समारोह, मेला पर्व र महोत्सवहरुमा थाली नाच देखाउने गरिन्छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवमा थाली नाच प्रमुख आकर्षक हो । करिब २० देखि २५ जना महिला कलाकारहरुले  सडकमा थाली नाच प्रदर्शन गर्दा बजार नै गुन्जायमान भएको थियो ।  

सङ्गीतसहित बजार नै गुन्जायमान हुने गरी महिलाहरुले सडकमा थाली नाच प्रदर्शन गरेपछि अवलोकन गर्नेहरुको निकै भिड लाग्यो । करिब दुई घण्टा बेनीको सडक थाली नाचको रौनकताले छोपेको थियो । युवायुवती र वृद्धवृद्धाहरुले थाली नाचलाई निकै रुचिका साथ हेरे । 

थाली नाचले म्याग्दीलाई स्वदेश तथा विदेशमा चिनाएको छ । थाली नाचलाई मगर समुदायले मौलिक कला संस्कृतिका रुपमा लिँदै संस्कृति पुस्तान्तरणका लागि तालिम र प्रशिक्षण दिएर नयाँ कलाकारहरु उत्पादन गर्दै आएको नेपाल मगर सङ्घ म्याग्दीका उपाध्यक्ष खमबहादुर थापा मगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, "म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला थाली नाचको उद्गम थलो हो ।  थाली नाच अहिले विश्वभर रहेका नेपालीहरु माँझ लोकप्रिय बनेको छ । थाली नाचले म्याग्दीलाई स्वदेश तथा विदेशमा चिनाएको छ । यसको  संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्तालाई सिकाइरहेका छौं ।"

 बेनीमा आयोजना हुने मेलापर्व,महोत्सव लगायत विशिष्ट कार्यक्रमहरुमा मगर समुदायका महिलाहरुले थाली नृत्य प्रस्तुत गर्ने प्रचलन बढेको छ । थाली नृत्यप्रति पछिल्लो समय नयाँ पुस्तामा पनि आकर्षण बढेको मगर सङ्घका उपाध्यक्ष थापाले बताउनुभयो । थाली नाचका कारण चिमखोला गाउँ देश विदेशमा चिनिन पुगेको वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।