• १० माघ २०८१, बिहिबार

पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ३ गते । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदैछ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ । 

दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्राजुएट (चिकित्सा डाक्टर-शल्यचिकित्सा स्नातकोत्तर, एमडी-एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन् । बिहीबारै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिनुभयो । 

“आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुँदैछ,” अर्यालले भन्नुभयो । प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले बताउनुभयो ।

पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना गरिएको हो । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दिएको थियो । अस्पतालले गण्डकी प्रदेशमै क्यान्सर उपचार सेवासमेत सुरुआत गर्दैछ ।