प्रेमराज सिम्खडा
कालीकोट, माघ २ गते । पुस–माघमै काफल पाकेको सुन्दा जोकोहीले पत्याउँदैनन । तर कालीकोटमा पुस महिनामा काफल पाक्न थालेको छ । बैशाखमा पाक्ने काफल कालिकोटको शुभकालिका गाउँपालिकामा पाक्न सुरु भएको हो ।
शुभकालिका –४ मा काफल पाकेको रुखमै स्पष्ट देख्न सकिन्छ । पहिलेका बर्षमा बैशाख–जेठमा पाक्ने काफल यस बर्ष पुसमा पाकेको स्थानीयको भनाइ छ । शुभकालिका –४ स्वास्थ्यचौकीमा कार्यरत सि अहेव खगेन्द्र चौलागाईले वनमा काफल पाक्न सुरु भएको देख्दा आफूलाई अच्चम लागेको बताउनुभयो ।
उहाँले आफै रुखमा गएर पाकेको काफल टिपेर घरमा ल्याएर सबैलाई देखाएको र खान दिएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा फोटो खिचेर राख्दा कसैले पत्याउनु भएन । मैले केही पत्रकारलाई पनि तस्बिर पठाएँ । कसैले चासो दिएनन’ चौलागाईले भन्नुभयो ।
वनमा सबै रुखमा काफल पाक्न थालेको खगेन्द्रले सुनाउनुभयो । बैशाखमा पाक्ने काफल पुस–माघमा पाक्नु अनौठो भएको स्थानीयको भनाइ छ । हामीले अलि–अलि पाकेको चैतमा देखेका थियौँ, तर यस बर्ष भने पुसमा पाकेको देख्दा अच्चमित भएका छौं, चौलागाईले भन्नुभयो ।
जलवायु क्षेत्रमा काम गर्नेहरुले यसलाई त्यसैको परिणाम भनेका छन् । कर्णाली एकीकृत बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको सहयात्रा परियोजनामा जलवायु समूहमा काम गरिरहनु भएका दिपेश आचार्यले जलवायु परिवर्तनको प्रभावले बेसिजनमा अनौठो तरिकाले परिवर्तन हुने गरेको बताउनुभयो ।
तराईमा अत्यधिक बढ्ने गर्मीले गैडा हिमालतिर सर्ने, उच्च तापमानका कारणले बैशाखमा पाक्ने फलहरु पुसमा पाक्न सुरु हुने यी सबै जलवायु परिवर्तनको कारणले भएको सुनाउनुभयो ।