• २ माघ २०८१, बुधबार

खोखो विश्वकप : नेपालले ब्राजिललाई हरायो

blog

नेपालको खोखो टोली । फाइल तस्बिर

काठमाडौँ, माघ २ गते । भारतमा जारी खोखो विश्वकपमा नेपालले ब्राजिललाई हराएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बुधबार भएको खेलमा पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।

दोस्रो जित निकालेको नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४ ले हराएको थियो । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो ।

दोस्रो जितसँगै समूह ‘ए’ नेपालले तीन खेलबाट चार अङ्क बनाएको छ । भारतको पनि समान चार अङ्क छ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

यस्तै विश्वकपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्ककालाई ११०–१० ले हरायो । महिलामा पनि नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ ।

यसअघि नेपालले जर्मनीलाई ७३–३४ र भुटानलाई ९३–२४ ले हराएको थियो । जितसँगै समूह ‘सी’ मा रहेको नेपाल ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । बङ्गलादेश र भुटानको दुई दुई अङ्क छ ।