यादवराज पुरी
रौतहट, माघ २ गते । रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई एलपी ग्यास सिलिण्डर र त्यसमा लाग्ने चुल्हो सेट निःशुल्क वितरण गरेको छ । धुवामुक्त नगर बनाउने अभियान अनुसार नगरसभाबाट पारित नीति तथा कार्यक्रम बमोजिम नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग आठ हजार ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ ।
गोबरको गुइँठा, दाउरा, कोइलाजस्ता परम्परागत इन्धनका साधनमा निर्भर ग्रामीण क्षेत्रका सामान्य तथा विपन्न घरपरिवारसम्म धुवाँरहित एलपी ग्यास विस्तार गर्ने भनी गरिएको चुनावी वाचा पूरा गर्न पनि उक्त कार्यक्रम अघि बढाइएको नगर प्रमुख शेख वकिलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धुवाँरहित चुल्होको प्रयोगबाट माटोको चुल्हो र दाउरामा खाना पकाउने गृहिणीको स्वास्थ्य खराब नहुने, समयको बचत हुने, समाजमा आत्मसम्मान बढ्नेलगायत पारिवारिक स्वास्थ्यमा असर नपर्ने ठानेर कार्यक्रम अघि बढाएका हौँ । नगरका प्राय सबै नागरिकको घरमा धुवारहित चुल्होको पहुँच पुगेको छ ।”
धुवाँरहित चुल्हो पाउँदा स्थानीय खुसी देखिएका छन् । पालिकाको वडा नम्बर ४ निवासी सावित्री देवीले वर्षौँदेखि गुइँठा र दाउरामा खाना पकाउँदा त्यसबाट निस्किएको धुवाँले श्वासप्रश्वासमा निकै समस्या हुन्थ्यो अब धुवाँरहित चुल्होको प्रयोगले उक्त समस्या हट्ने भन्दै खुसी व्यक्त गर्नुभयो । विपन्न परिवारका गृहिणीले भने ग्यास चुल्हो बाल्ने सपना पूरा भएको बताएका छन् ।