चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप किशोरीहरुलाई लगाइने भएको हो ।
नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा किशोरीहरुलाई एचपिभी खोप लगाउन लागिएको हो । दुई चरणमा गरी करिब छ हजार ७८० जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार पहिलो चरण माघ २२ देखि २६ गतेसम्म फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ ।
फुङ्लिङसँगै पाथीभरा याङ्वरक गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पहिलो चरणमा खोप अभियान सञ्चालन गरिनेछ । यस्तै दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म फक्ताङ्लुङ गाउँपालिकासहित पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो चरणमा खोप अभियान सञ्चालन हुने बाँकी स्थानीय तहमा आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिका छन् ।
खोप अभियान सञ्चालनका लागि जिल्लाका सम्पूर्ण विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र निर्धारण गरिएकोसमेत स्वास्थ्य कार्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मी बताउँछन् ।