काठमाडौँ, माघ २ गते। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषामा विशेष जोड दिनुपर्ने बताउनुभयो।
नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताउनु भएको हो।
पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भन्नुभयो, ‘हाम्रो मूल कुरा भनेकै मातृभाषा हो । मातृभाषा रह्यो भने हामी रहन्छौँ । मातृभाषा नै रहेन भने हामी कसरी रहन्छौँ ? आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मातृभाषा हो ।’
संस्कार, संस्कृति, भेषभूषा सँगै मातृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाइ थियो । नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएपनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताउनुभयो।
अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकार खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुनु आवश्यक रहेको बताउनुभयो। ‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’