• २ माघ २०८१, बुधबार

पूर्वतयारीले क्षति न्यून

blog

गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको महाभूकम्प गएको पनि नौ वर्ष पूरा भइसकेको छ । यो अवधिभित्र थुप्रै भूकम्प आई नै रहेका छन् । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पुस महिनामा मात्रै ठुला साना गरी चार रेक्टर माथिका १० वटा भूकम्प गइसकेका छन् । पछिल्लो भूकम्प २०८१ पुस २३ गते चीनको डिनग्ये केन्द्रविन्दु बनाएर गएको सात रेक्टर भूकम्पको कम्पले नेपाल, भारत, चीनलगायतका देशमा हल्लाएको थियो । पछिल्लो समय पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । नेपालमा मात्रै होइन विश्वका अनेकन सहरमा ठुला ठुला भूकम्प गइनै रहेका छन् । जसका कारण कैयौँ नागरिकको मृत्यु भएका छन् भने कैयौँ घाइते तथा घरवारविहीन हुन पुगेका समाचार आइरहेका छन् । 

टर्की केन्द्रविन्दु भएर सन् २०२३ फब्रुवरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा हजारौँको सङ्ख्यामा ज्यान गयो, हजारौँ घाइते भए र भग्नावशेषमुनि अज्ञात सङ्ख्यामा नागरिकहरू बेपत्ता भए । तिनको उद्धारका लागि हजारौँको सङ्ख्यामा उद्धारकर्तासमेत खटाइएको थियो । उक्त दिन गएको भूकम्पले टर्कीका मुख्य १० सहर काहमानमार्शसहित किलिस सहर र सिरियाको अलेप्पोसहित टार्टस सहरसहित चार वटा सहर धेरै प्रभावित भई थुप्रै सर्वसाधारण नागरिक र भौतिक संरचना ध्वस्त भएका थिए । टर्कीमा सन् २०११ र सन् १९९९ मा गएको भूकम्पमा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । विश्वमा गएको यस्ता खाले भूकम्पले गर्दा अति जोखिममा रहेको नेपालले पनि भूकम्पीय क्षति न्यूनीकरणका उपाय खोज्नु अति आवश्यक भइसकेको छ । भूकम्पीय घटना झट्काको तीव्रताको आधारमा मापन गरिन्छ । यो तीव्रता भूकम्पको समयमा ऊर्जाको रिलिजसँग सम्बन्ध हुने भएकाले रेक्टर स्केलमा मापन गरिन्छ । भूकम्पको तीव्रता ० देखि १० सम्म रहेको हुन्छ । नेपाललगायत विश्वमा जाने भूकम्पको तीव्रता पाँच रेक्टरभन्दा बढी गएको खण्डमा अत्यन्त विनाशकारी परिणाम ल्याउने गर्छ । उदाहरणका लागि नेपालमा विसं २०७२ को भूकम्प र टर्कीमा हालै गएको ७.५ रेक्टरभन्दा बढी रेक्टर स्केलको भूकम्पलाई लिन सकिन्छ । त्यस्तै गरी आठ रेक्टरभन्दा बढीको भूकम्प जाने सम्भावना थोरै रहेको विज्ञले बताउँदै आएका छन् । 

भूकम्प कुनै सूचना दिएर आउँदैन यो एक प्रकारको दैवीप्रकोप नै हो । यसबाट बच्नका लागि पूर्वसावधानी एउटा उपाय हो तर यो नै मात्र सबथोक भने होइन । भूकम्पले पहाडी क्षेत्रमा पहिरो जान सक्दछ र ठुलो जनधनको क्षति पुयाउँछ भने हिमाली क्षेत्रमा हिमपहिरो जानेलगायतका घटना हुन सक्छ । त्यस्तै गरी ठुला ठुला बाँध भत्केर बाढीको बितण्डा मच्चाउन सक्छ । समुद्री छाल बढेर सुनामी आउन सक्छ । अर्कोतर्फ मानव निर्मित भवनहरू, रेलवे, सडक, पुलहरू र आवासीय क्षेत्रहरू विनाश गर्न सक्छ । विसं २०७२ आएको भूकम्पले धेरै जनधनको क्षति गरेको थियो भने भौतिक संरचना, मठ, मन्दिर भत्किएका थिए । तिनको पुनः निर्माण कार्य अधिकांश पूरा हुने क्रममै रहेका छन् । त्यस्तै गरी चीन, भारत, टर्की, जापानलगायतका देशहरूमा पनि भूकम्पका कारण भौतिक संरचना भत्किएका थिए । काठमाडौँ सहर भूकम्पीय सुरक्षाको दृष्टिकोणले अगाडि नै रहेको छ । यसले गर्ने क्षतिले सबैलाई मर्माहत र दुःखी तुल्याउन सक्छ त्यसैले भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन तथा घरहरू निर्माण गरिनुपर्ने आवश्यकता छ तर अझै पनि हामी सचेत र सतर्क अनि जिम्मेवार बन्न सकेका छैनौँ । अबका वर्षमा २०७२ सालको जस्तो यस्तो विध्वंस भोग्न नपरोस् भन्दै गर्दा यो अवस्था आउनुमा हामी पनि दोषी छौँ । २०७२ सालको भूकम्पलाई चट्ट बिर्सेर फेरी लुकीछिपी, नक्सा पारित नगरी थोरै जग्गामा गगनचुम्बी भवन बनाइरहेका छौँ । नेपाल सरकारले तोकिदिएको भवन आचारसंहितालाई हामीले पालना गरेका छैनौँ । राजधानीलगायत मुलुकका कैयौँ सहर अहिले पनि अस्तव्यस्त, अव्यवस्थित हुनुको मुख्य कारण नेपाल सरकारले कहाँ र कुन कुन स्थानमा कस्तो कस्तो किसिमको घर, भवन निर्माण गर्ने भन्ने गुरुयोजना तयार गरी कार्यान्वयन गर्न नसक्नु नै हो । अहिले काठमाडौँलगायत नेपालका ठुला सहर कङ्क्रिटमा परिणत भइसकेका छन् । 

कुनै घटना, दुर्घटना हुनुभन्दा पहिले सुरक्षा उपाय खोज्नु पर्छ । भूकम्पअघि प्राथमिक उपचार विधि जानी राख्ने, गह्रौँ सामान दराजको तल्लो खण्डमा राख्ने, नयाँ घर निर्माण गर्दा भूकम्पीय सुरक्षा उपाय अपनाउने, बत्ती, पङ्खा, ठुला ऐना, तस्बिर आदि झुन्ड्याइएका सामान नखस्ने गरी राख्ने, फर्निचर, अग्ला सरसामान नढल्ने र नखस्ने गरी बलियोसँग राख्ने गर्नु पर्छ । भूकम्पपछि भूकम्पले हल्लाउन छोड्नासाथ सुरक्षाको स्थिति हेरेर मात्र घरबाहिर निस्कने, भूकम्प फर्किएमा त्यसको तयार रहने, आगो निभाउने, तुरुन्त प्राथमिक उपचार गर्ने, खुला ठाउँमा भेला हुने, सङ्कटकालीन सेवा कार्यमा बाधा पर्ने गरी टेलीफोन प्रयोग नगर्ने, रेडियो खोल्ने र भूकम्पको खबर तथा त्यससम्बन्धी सूचना सुन्ने, घर सुरक्षित छ भन्ने सुनिश्चित नभएसम्म कुनै पनि घरभित्र नपस्ने गर्नु पर्छ । विशेषतः भूकम्प भनेपछि हामी तर्सने र आतिने गर्ने गर्दछौं तर त्यसो नगरी नआत्तिकन बस्नु पर्छ । यदि भूकम्प गएको बेला घरभित्र छौँ भने कहिल्यै झ्यालबाट हाम फाल्नु हुँदैन । ढोकामा उभिने वा टेबल, डेस्क, खाटमुनि बस्नु पर्छ । भत्कन सक्ने झ्याल नजिक कहिल्यै बस्नु हुँदैन, भुइँ तलामा ढोका नजिकै छौँ भने बाहिर निस्कनु पर्छ । त्यस्तै घर बाहिर सवारीसाधन चलाइरहेका छौँ भने सडकबाट हटेर सुरक्षित स्थानमा गई रोक्नु पर्छ । बिजुलीको तार, लाइन र भवन नजिक बस्नु हुँदैन । आवतजावत गर्ने बाटो साँघुरो छ र दायाँ बायाँ अग्ला घर छन् भने ढोकामा गएर उभिएर बस्नु पर्छ । भूकम्पको बेला अति आवश्यक पर्ने टर्चलाइट, सुक्खा चिज चाउचाउ, चिउरा, रेडीयो, डोरी, मलम, औषधी, पानी, अति महत्वपूर्ण कागजातको फोटोकपी ब्यागमा सहजै देखिने र भेटिने ठाउँमा राख्नु पर्छ ।

हामीले पूर्वतयारी गर्नसकेको खण्डमा आफू पनि बच्न सक्छौँ र अरूलाई पनि बचाउन मद्दत पुर्‍याउन सक्छौँ । घर बनाउँदा गुणस्तरीय निर्माण सामग्री प्रयोग र प्राविधिकको अनुगमन तथा आचार संहितालाई पूर्ण रूपमा पालना गरी भूकम्पलाई न्यूनीकरण गर्न सकिन्छ । भूकम्पबाट बच्नका लागि पूर्वतयारीका साथसाथै व्यवस्थापनका बारेमा विद्यालयस्तरको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नु पर्छ । त्यस्तै गरी पूर्वसावधानीका प्रयोगात्मक तरिकासमेत सिकाउनु पर्छ । भूकम्प जस्तो विपत्बाट जोगिन स्थानीय सरकार, प्रदेश र सङ्घ सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्था मिलाइराख्नु पर्छ । भूकम्प आउने बित्तिकै राहतका कार्यलाई तीव्रता दिई अघि बढ्नका लागि दक्ष कर्मचारी, स्वयंसेवकको व्यवस्था गर्न सकेको खण्डमा भूकम्प गइहालेको खण्डमा समयमै पीडितले राहत पाउन सक्छन्, अकाल मृत्युबाट बचाउन सकिन्छ । अतः भूकम्प जस्तो विपत्बाट बच्नका लागि अवलम्बन गरिएका नियम सबैले पालना गर्नु अपरिहार्य भएको छ ।

 

Author

न्हुंछेनारायण श्रेष्ठ