इनरुवा (सुनसरी), माघ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका –३ मा आज सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उहाँसँगै कारमा सवार मोरङको विराटनगर –४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।
घाइते न्यायाधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस