रवीन्द्र उप्रेती
बर्दिबास, माघ १६ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु भएको छ ।
यसैक्रममा जिल्लाका चारै निर्वाचन क्षेत्रमा समन्वयात्मक अन्तर्क्रिया गोष्ठी आयोजना गरी राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराइएको छ ।
गोष्ठीमा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले राष्ट्रिय झण्डा, व्यानर, सामाजिक सञ्जालको प्रयोग, चुनावी सभा, सवारी साधनको प्रयोगलगायत विषयमा विभिन्न कोणबाट प्रश्न उठाएका थिए । विशेषगरी निर्वाचन अवधिमै महान पर्व होली परेको सन्दर्भमा धर्म–संस्कृति मनाउने कि आचारसंहिता पालना गर्ने भन्ने विषयमा साझा जिज्ञासा व्यक्त गरिएको थियो ।
उम्मेदवारहरूले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा सिल हुने अवस्थामा होली मनाउन आफन्तसँग सीमा वारिपारि आवतजावत कसरी गर्ने, मधेशमा समूह बनाएर घरघरमा होली खेल्ने परम्परा आचारसंहिताभित्र कसरी व्यवस्थापन गर्ने लगाएतका प्रश्न उठाएका थिए ।
गोष्ठीमा मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले निर्वाचन लोकतन्त्रको महापर्व भएको उल्लेख गर्दै निर्वाचन अवधिभर आचारसंहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले होली सांस्कृतिक पर्व भए पनि यसपटक निर्वाचनलाई ‘महान पर्व’ मानेर आचारसंहिताको परिधिमा रहेर पर्व मनाउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता २०८२ को कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग, नक्कली (डमी) उम्मेदवारमार्फत चुनावी साधनको दुरुपयोग, भोजभात, भडकिलो प्रचार, प्रतिस्पर्धीविरुद्ध दुष्प्रचार, पर्चा–पम्पलेट, तोरण, लोगोको प्रयोग तथा मौन अवधिको उल्लङ्घनजस्ता गतिविधिमाथि सूक्ष्म निगरानी सुरु गरिएको जानकारी दिनुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐनअनुसार एक लाख रुपियाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको दण्ड हुन सक्ने चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो ‘आचारसंहिता सबै दलको सहमतिमा बनेको हो । यसले आदर्श निर्वाचनका परिकल्पना गरेको छ । यसको पालना नगरे जो–कोही कारबाहीमा पर्न सक्छ ।’
यसअघि निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गगनदेव महतोले निष्पक्ष निर्वाचन र आचारसंहिताबिच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आचारसंहिता पालनाका लागि निर्वाचन क्षेत्र नं. १ को बर्दिबास, २ को बलवा बनौटा, ३ को जलेश्वर र ४ को रामगोपालपुरमा समन्वयात्मक अन्तर्क्रिया गोष्ठी आयोजना गरिएको हो ।
महोत्तरीका चार निर्वाचन क्षेत्रमा कुल १३९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये निर्वाचन क्षेत्र नं. ३ मा सबैभन्दा बढी ४१ उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा ३७, क्षेत्र नं. ४ मा ३६ र क्षेत्र नं. १ मा सबैभन्दा कम २५ उम्मेदवार रहेका छन् ।