• १ माघ २०८१, मङ्गलबार

सार्वजनिक यातायातको भाडा घट्यो

blog

दैलेखमा भाडादर घटाउन बसेको सुरक्षा समिति र यातायात व्यवसायीको संयुक्त बैठक । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता 

दैलेख, माघ १ गते । दैलेख–सुर्खेत चल्ने सार्वजनिक यातायातमा भाडा दर घटाइएको छ । शनिबार दैलेखमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति सुर्खेत, जिल्ला सुरक्षा समिति दैलेख, डिभिजन सडक कार्यालय, यातायात कार्यालय र यातायात व्यवसायी सङ्गठनका प्रमुखको बैठकले उक्त रुटको भाडा घटाएको हो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सुर्खेत–दैलेखको भाडादर वृद्धि भएको गुनासो आएपछि आफूहरूले भाडादर घटाउन पहल गरेको र त्यसैका आधारमा उक्त निर्णय गरिएको बताउनुभयो । उहाँले हाल दैलेख–सुर्खेत र सुर्खेत–दैलेखको भाडादर ६३५ लिइरहेकोमा अब ५५० रुपियाँ कायम गरिएको र सुर्खेत हुँदै दैलेखको भैरवी गाउँपालिकाको मुकाम पुग्ने भाडादर एक हजार १९० रुपियाँबाट घटाएर नौ सय रुपियाँ कायम गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक यातायात व्यवसायी र निजी व्यवसायीले सरकारले तोकेको भाडादरभन्दा बढी लिने गरेका कारण दुवै जिल्लाका सुरक्षा समिति र अन्य सरोकारवाला निकाय बसेर छलफलपश्चात् उक्त भाडादर कायम गरेका छौँ ।” 

नेपाल सरकारले तोकेको भाडादरभन्दा बढी भाडा लिएको पाइएमा ट्राफिक प्रहरी, नेपाल प्रहरीले नियम अनुसार कारबाही गर्ने, रुट परमिट नभएका सडकका लागि रुट परमिटका लागि यातायात व्यवस्था कार्यालय सुर्खेत र सम्बन्धित यातायात व्यवसायीले पहल गर्ने र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ । सडक डिभिजन सुर्खेतले सडक दुर्घटना न्यूनीकरणका लागि वार्षिक कार्यक्रम अनुसार नियमित रूपमा गर्नुपर्ने मर्मतलाई प्राथमिकता दिएर काम गर्ने, ट्राफिक र नेपाल प्रहरीले मादक पदार्थ लाइसेन्स जाँचलाई प्रभावकारी बनाउने भएका छन् । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्ने, सवारीसाधनमा सिट थपेको भए कारबाही गर्ने यसमा यातायात व्यवसायीले सहयोग गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिनुभयो ।