दीपकप्रसाद गौतम
वीरगन्ज, माघ १ गते । पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब अठार हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका प्रमुख मनोजप्रसाद पटेलका अनुसार भारतले नहरको सुरुको विन्दुबाट पुस १५ गते छाडेको पानी पर्सा बारा हुँदै रौतहटको १३ नम्बर ब्लकसम्म पुस १९ गते पुगिसकेको थियो । सुरुमा कुनै घटना दुघर्टना नहोस् भनी नहरमा धेरै कम पानी छाडिने त्यसपछि बिस्तारै बढाएर ८५० क्युसेक पानी नेपाललाई भारतले दिने सम्झौता रहेको उहाँले बताउनुभयो ।
अहिले भारतले छाडेको ४७५ क्युसेक पानी नहरमा आइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले बताउनुभयो ।
पर्सादेखि रौतहटसम्म ८१ किलोमिटर लामो करिब ३७ हजार चार सय हेक्टर जग्गा सिँचाइ क्षमता रहेको गण्डक नहरको सिञ्चित क्षेत्रमा करिब २० हजार हेक्टरमा लगाइएको गहुँबालीमा नहरको पानी समयमै आएपछि सिँचाइका लागि सहज भएको हो ।
नहरमा भारतले धान बालीका लागि असार १५ देखि कात्तिक १५ सम्म र गहुँ बालीका लागि पुस १५ देखि फागुन १५ सम्म ८५० क्युसेक पानी छाड्ने सम्झौता छ ।
अहिले किसानले खेतमा लगाएको गहुँ बालीमा सिँचाइका लागि पानीको आवश्यकता छ । नहरको पानीले नहरको दक्षिणतर्फका किसानले बालीमा सिँचाइ गर्ने गरेका छन् ।
विगतका वर्षमा भारतले गण्डक नहरमा समयमै पानी नछाड्दा किसान गहुँ बालीका लागि पम्पसेट, बोरिङबाट महँगो सिँचाइ गर्न बाध्य थिए तर यस वर्ष समयमै नहरमा पानी आएपछि किसानका लागि पम्पसेट, बोरिङबाट महँगो सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ । यसपालि केही दिनदेखि चिसो बढेर परेको शीतले गहुँबालीलाई फाइदा गरेको किसानहरू बताउँछन् ।