काठमाडौँ, पुस २९ गते । नेपाल-भारत मैत्री विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका अग्रिम शैंजुले जित्नुभएको छ ।
नेपाल बुद्धिचाल महासङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको यु–११ को फाइनलमा शैंजुले भारतका एसे एबर भुटियालाई हराउँदै उपाधि जित्नुभएको हो ।
पाँचौ चरणको खेल विजेतासँग गुमाउँदा आयोजक पुष्पसदन स्कुलका हार्दिक पन्त दोस्रो हुनुभयो । भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेस्रो हुनुभयो ।
यसैगरी यु–१३ छात्र तर्फको प्रतिस्पर्धामा सिक्किम चेस एसाेसिएसनका निरभ ढकालले बाजी मार्नुभयो । नेपालको पाठशाला सेकेन्डरी स्कुलका ओस्कार पन्थी दोस्रो र त्रियोग हाइस्कुलका आभास रिमाल तेस्रो हुनुभयो ।
यु–१५ समूहमा भारतका अभनिश प्रधान पहिलो हुनुभयो । पुष्प सदनका सुप्रभ सागर श्रेष्ठ दोस्रो र मातृभूमि स्कुलका सविद प्रजापति तेस्रो हुनुभयो । विजेता खेलाडीलाई कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोललगायतले पुरस्कार प्रदान गर्नुभयो ।