• २९ पुस २०८१, सोमबार

स्पेनिस सुपर कपमा बार्सिलोना च्याम्पियन

blog

उपाधि जितेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, पुस २९ गते । स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–२ गोलले हराउँदै उपाधि उचालेको हो । 

चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई जिताउन राफिन्हाको ३९औँ र ४८औँ मिनेटमा दुई गोल गर्नुभयो । यस्तै युवा स्टार लामिन यमलले २२औँ मिनेटमा टोलीका लागि गोलको खाता खोल्नुभएको थियो ।


रोबर्ट लेवान्डोवस्कीले ३६औँ मिनेटमा पेनाल्टीमा र एलेजान्ड्रो बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । यस्तै रियलका लागि केलियन एमबाप्पेले पाँचौँ र रोड्रिगोले ६०औँ मिनेटमा गोल एक एक गर्नुभयो ।


५६औँ मिनेटमा बार्सिलोनाका वोइचेक स्जेन्सी रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर पनि रियलले कुनै चमत्कार देखाउन सकेन । एजेन्सी