• २९ पुस २०८१, सोमबार

रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) पुस २९ गते । इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको हो । 

पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो । 

प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावककाे सबै विवरण राख्ने गरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षा सम्बन्धी एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले जानकारी दिनुभयो । अभिभावक  शिक्षामा सहजकर्ताको समेत काम गरी रहनुभएका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्ने गरी एप निर्माण गरिएको जानकारी दिनुभयो । ‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्न र त्यो समय उहाँहरुले विद्यालयका अन्य काममा खर्चन सक्नुहुन्छ,’ खनालले भन्नुभयो ।

अभिभावक  उपस्थिति र मूल्याङ्कनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ । उक्त एपमा विद्यार्थी नियमित भए-नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे÷नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ । गाउँपालिकाले एक वर्षअघि देखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ । गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ । 

हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सय बढीलाई अभिभावक शिक्षा दिइएकाे गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । उहाँले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचय पत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिनुभयो । अध्यक्ष स्याङ्बोले भन्नुभयो, "सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकमा एकरुपता ल्याउन सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ, त्यसकै लागि हामीले एप निर्माण गरी लागु गरेका हौं ।"

गाउँपालिकाले शुरुमा ४० शिक्षकलाई सहजकर्ता शिक्षकको रुपमा तालिम दिएर अभिभावक शिक्षा सुरु गरेको थियो । पालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आर्थिक वर्ष २०८१-०८२ मा २० करोड लगानी गरेको छ । विद्यालयको भौतिक संरचनादेखि आईसीटी ल्याब र अभिभावक शिक्षा लगायतमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो । 

अविभावक शिक्षासँगै गाउँपालिकाले आमा समूहलाई सक्रिय बनाएको छ । आमा समुह परिचालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम थालिएको छ । पालिकाले कार्यविधि निर्माण गर्दै अभिभावक परिचय पत्र, अविभावक शिक्षा, अनुगमन, मूल्याङ्कन, पुरस्कार र दण्ड सजायका विषयमा स्पष्ट उल्लेख गरेको छ । अभिभावक शिक्षा लागु भएपछि विद्यार्थी नियमित विद्यालय जाने, विद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल पुग्ने गरेको रोङ ६ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनुभयो ।