खलङ्गा समाचारदाता
जाजरकोट, पुस २९ गते । यहाँका बादी समुदाय खोलाको छेउमा बसेर माछा मारी जीवन निर्वाह गरेका छन् । नलगाड नगरपालिका–७, दल्लीस्थित नलसिंहगाडको किनारमा माछा मारेर बादी समुदायका परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।
सार्वजनिक जमिनमा घरटहरा निर्माण गरी बसोबास गरेका करिब ४५ घरपरिवारले पुसको चिसो सिरेटोमा नलसिंहगाडको छेउमा माछा मार्ने, गिट्टी कुट्ने र श्रम रोजगारीका माध्यमबाट बिहान बेलुकाको छाक टार्रे गरेका छन् । नलगाड नगरपालिकाकी कार्यपालिका सदस्य सरिता बादीका अनुसार पुर्खादेखि खोलाको छेउमा बसोबास गरी माछा मार्ने काम गर्दै आएका अल्पसङ्ख्यक बादी समुदायका परिवार अहिले समस्यामा परेका छन् । सार्वजनिक जमिनको बास, खोला तथा नदीमा माछा मारेर छाकको जोहो गर्नुपर्ने उक्त समुदाय विगत ३० वर्षअघिदेखि खोला किनारमा बस्दै आएका छन् ।
गत वर्षको जाजरकोटको बारेकोट गाउँपलिका–१, रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्काएपछि सरकारले अस्थायी आवासका लागि दिएको २५ हजार रुपियाँ अनुदानमा टहरा निर्माण गरी माछा मार्ने र गिट्टी कुटेर जीविकोपार्जन गरेका छन् । कर्णाली प्रदेशकै गौरवको आयोजना नलगाड जलविद्युत् आयोजनाले जमिन अतिव्रmमणमा परे पनि आफ्नो नाममा जमिन नहँुदा सोही स्थानमै बसिरहेकै छन् । नलगाड नगरपालिका–७ की गीता बादीले घर बनाउने जमिन नहुँदा बिहान बेलुकाको छाक टार्नका लागि माछा मार्न खोलाको किनारमै बस्नु परेको बताउनुभयो । सरकारले जमिन उपलब्ध गराइदिए कृषि व्यवसायमा लाग्ने इच्छा उहाँको छ । खेती गर्नका लागि जमिन नहुँदा खाना र लत्ता कपडाको जोहो गर्न माछा मार्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
सुत्केरी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिकले समेत माछा मार्ने, गिट्टी कुट्ने, बालुवा बोक्ने काम गर्नु परेको छ । कृषि पेसा गर्ने जमिन नहुँदा माछा नमारे खान नपाउने अवस्था आएपछि पुर्खाले धानेको पेसा छोड्न पनि नसकेको उहाँले जनाउनुभयो । उहाँका अनुसार नलगाड जलविद्युत्ले जतिबेला पनि उठाउने भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । पछिल्लो समयमा आवास निर्माण गर्न नसकेका जनतालाई सरकारले जनता आवास कार्यव्रmम ल्याए पनि आफ्नो नाउँमा जमिन नहुँदासमेत पाउन नसकेको गुनासो बादी समुदायले गरेको छ । उनीहरूका बालबालिका पनि नियमित विद्यालय जाँदैनन् । बिहान बेलुकाको खाना, कापी कलम किन्ने पैसा नहँुदा बालबालिका पढाइबाट वञ्चित हुनु परेको अभिभावकको भनाइ छ ।