गाईघाट समाचारदाता
गाईघाट, पुस २९ गते । माघेसङ्क्रान्ति पर्वका लागि सदरमुकाम गाईघाटलगायत जिल्लाका कटारी र बेल्टार बजारमा सखरखण्ड, तरुल, पिडालुलगायतका कन्दमूलको व्यापार बढेको छ ।
माघेसङ्क्रान्ति पर्व मनाउनका लागि केही दिन यता उदयपुरका हाट बजारमा सर्वसाधारण उपभोक्ताको तिल, सखर, वन तरुल, सिमल तरुल, इस्कुसको जरा, सखरखण्ड र घर तरुल जस्ता कन्दमूलको बिक्री तथा किनमेल बढेको हो । धार्मिक मान्यता र परम्परा अनुसार माघेसङ्क्रान्तिका दिन बिहानै उठेर मक्कर स्नान गरी उसिनेको तरुल र तिलका लड्डुको परिकार खाएर तिलकै घसेटा बालेर आगो ताप्ने सामाजिक प्रचलन अनुसार नै आफूहरूले तिल, तरुललगायतका कन्दमूल किनेको गाईघाट बजारकी गृहिणी सरिता थापाले बताउनुभयो ।
गाईघाट बजारमा भुस फालेको सेतो तिल प्रतिकिलोग्राम ३६० रुपियाँ, कालो तिल प्रतिकिलो तीन सय रुपियाँ, सखर प्रतिकिलो ८० रुपियाँ, वन तरुल प्रतिकिलो ३५० रुपियाँ, घर तरुल ९० रुपियाँ, इस्कुसको जरा १४० रुपियाँ, सिमल तरुल ७५ रुपियाँ र सखरखण्ड प्रतिकिलो ८० रुपियाँका दरले बिक्री भइरहेको स्थानीय खुद्रा व्यापारी मनमाया मगरले बताउनुभयो ।
गत विगत जस्तै यस वर्ष पनि तिलको बिक्री अत्यधिक बढेको व्यापारीको भनाइ छ । कोशी टप्पुस्थित मध्यवर्ती क्षेत्रबाट गाईघाटमा तिल बिक्री गर्न आएका व्यापारी हिरा साहले एक सातामा मात्रै पाँच क्विन्टल सेतो तिल आफूले बिक्री गरेको र आफू जस्ता यहाँ १५ भन्दा बढीको सङ्ख्यामा रहेका व्यापारीले ठुलो परिमाणमा तिल आयात गरी बिक्री गर्दै आएका छन् ।
माघेसङ्क्रान्तिका दिनदेखि सूर्य उत्तरायन हुने र दिन पनि लामो हुने भएकाले यसैको खुसियालिमा तिल, तरुललगायतका कन्दमूल खाने प्रचलन रहेको त्रियुगा नगरपालिका–११, गाईघाटका उपभोक्ता राजु बस्नेतले बताउनुभयो । पुरानो प्रचलन अनुसार चौधरी समुदायमा पनि सखरको तातो घोलमा भुटेको तिल र भुजा मिसाएर बनाइएको लड्डु आफन्तलाई खुवाउने चलन रहेको र सरकारले पनि माघी पर्व भन्दै सो दिन सार्वजनिक बिदा दिने गरेकाले यो पनि राष्ट्रिय पर्वकै रूपमा मनाउन थालिएको गाईघाट–११ कै अर्का उपभोक्ता लीलाकुमारी चौधरीले बताउनुभयो ।