• २८ पुस २०८१, आइतबार

साहित्यकार दैवज्ञराज न्यौपाने

blog

भाइबहिनीहरू, तपाईंले साहित्यकार दैवज्ञराज न्यौपानेको नाम सुन्नुभएको छ ? उहाँ नेपाली साहित्यका राम्रा कवि र गीतकार हुनुहुन्छ । उहाँको जन्म २००४ मङ्सिर ३० गते भोजपुरको गोगनेमा भएको थियो । उहाँका पिताको नाम गणेशप्रसाद उपाध्याय न्यौपाने तथा माताको नाम उमादेवी न्यौपाने हो । 

शिक्षित ब्राह्मण परिवारका उहाँको पाँच वर्षकै उमेरदेखि शिक्षादीक्षा आरम्भ भयो । घरबाट विस्तारै विद्यालय पुग्नुभयो । गाउँकै संस्कृत माध्यमिक विद्यालयबाट २०१५ सालमा कक्षा ५ उत्तीर्ण गर्नुभयो । त्यसपछि भोजपुरकै दिङ्ला भन्ने ठाउँमा पुग्नुभयो । त्यहाँको षडानन्द माध्यमिक विद्यालयमा कक्षा ६ देखि ९ सम्मको अध्ययन गर्नुभयो । थप अध्ययनका लागि उहाँ दाङ पुग्नुभयो । त्यहाँको जनता माध्यमिक विद्यालय बिजौरीबाट २०२१ सालमा उत्तरमध्यमा परीक्षा उत्तीर्ण गर्नुभयो । २०२३ सालमा शास्त्री परीक्षा उत्तीर्ण गर्नुभयो । पढाइलाई निरन्तरता दिँदै जानुभयो । २०२५ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गर्नुभयो । २०२७ सालमा संस्कृत साहित्यतर्फको आचार्य तहको पढाइ पनि सक्नुभयो । 

अध्ययनकै सिलसिलामा २०१८ सालमै केही समय भोजपुरको दावामा प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुभयो । स्नातकोत्तर तह सकिएपछि २०२७ जेठ १४ देखि भक्तपुर कलेजबाट त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गर्नुभयो तर त्यहाँ धेरै समय बिताउनु भएन । केहीपछि नेपाल सरकारको राष्ट्रिय व्यावसायिक केन्द्र सानोठिमी भक्तपुरमा अधिकृतका रूपमा सेवा प्रारम्भ गर्नुभयो । २०३० सालसम्म मात्र त्यो जागिरलाई निरन्तरता दिनुभयो । पुनः भक्तपुर क्याम्पस फर्किनुभएका उहाँ २०३१ सालमा पाटन क्याम्पस पुग्नुभयो । २०४३ फागुन १ गतेदेखि नेपाली केन्द्रीय विभाग कीर्तिपुर 

सरुवा हुनुभएका उहाँले बाँकी सेवा अवधि त्यहीँ बिताउनु भयो । 

उहाँको जीवन जागिरपछि नेपाली भाषा र साहित्यको उन्नयनमा लाग्न थाल्यो । त्यसपछिको समय अध्ययन–अध्यापन र लेखनभन्दा बाहिर गएन । उहाँको सोच र चिन्तन नेपाली भाषा साहित्यको उन्नति प्रगतितिरै लागिरह्यो । त्यहीँ आफूले गर्न चाहेको वा सक्ने कुरा देख्नुभयो । हरेक असल नागरिकका मन–मस्तिष्कमा देश, भाषा, संस्कृति र इतिहास प्रतिविम्बित भइरहेको हुन्छ । देश, भाषा, संस्कृति, इतिहास, पहिचान र पुर्खाहरूको योगदानलाई कदर नगर्नेहरू कहिल्यै पनि असल नागरिकको कोटीमा पर्न सक्दैनन । यी र यस्ता कुराप्रति उहाँ सजग, सचेत र जागरुक हुनुहुन्थ्यो । 

२०२१ सालमा अरुणोदय मासिक पत्रिकामा ‘उनीमा निम्तो’ शीर्षक कविता प्रकाशित गराएर साहित्यमा प्रवेश गर्नुभएका उहाँ त्यो क्षेत्रमा आजीवन लागिरहनुभयो । भाषा साहित्यको उत्थानमा सक्रियताका साथ लाग्नु पर्छ भन्ने सोचका पक्षपाती उहाँका आठ वटा कृति प्रकाशित छन् । ती कृति सिर्जनाका लहर (२०३५), तोतेबोली (२०३८), गाउँ खाने कविता (२०४३), हुने बिरुवाका चिल्लापातहरू (२०४५), जोर मुरली (२०४६), गुणराज खनालका खण्ड काव्यको मूल्याङ्कन (२०४९), बालसंसार (२०५३), नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू (२०५४), सबै हाम्रा साथी (२०५६) र सम्झनाको धरातलबाट (२०६३) आदि हुन् । नेपाली भाषा साहित्यसेवी दैवज्ञराज न्यौपानेको निधन २०६८ साल फागुन १५ गते भएको हो ।   

  मुना