वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, पुस २८ गते । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पानीमा आश्रित चराको गणना पाँच दिनसम्म गर्ने कार्यक्रम अनुसार सप्तकोशी नदीको चतरा क्षेत्रबाट गणना सुरु गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म आरक्ष क्षेत्रमा रहेको नदी क्षेत्र र तालमा पाइने चराको गणना गरिने छ ।
चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले प्रत्येक वर्ष पुसमा चरा गणना गर्ने गरिएको बताउनुभयो । चराविज्ञ तथा संरक्षणकर्मीको सहभागिताका चरा गणना हुँदै आएको छ । उहाँका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएकोमा दुई सय प्रजातिका चरा पानीमा आश्रित रहेका छन् । पानीमा आश्रित रहेका आगन्तुक र नेपालमै पाइने जलपन्छीको गणना गरिने संयोजक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा आश्रित चराको अवस्था के कस्तो छ भनेर प्रत्येक वर्ष गणना गर्ने गरिएको छ ।”
संयोजक पौडेलका अनुसार राष्ट्रव्यापी रूपमा नेपाल पन्छी सङ्घले जलपन्छी गणना सुरु गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समवन्यमा चरा गणना भइरहेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा कोशी पन्छी समाजले चराको गणनाको काम गर्ने भएको छ ।
पानीमा आश्रित चरामा हाँसका प्रजाति, बकुलाका प्रजाति, गरुडका प्रजाति, हुटिट्याउँलगायत पानीमा निर्भर रहने जलपन्छीको विज्ञद्वारा गणना गरिने राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताउनुभयो । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजारको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।
चराको प्रजनन क्षमता घट्दै गएको हुँदा कोशीटप्पुमा पाइने चराको सङ्ख्या घट्दो क्रममा रहेको बताइएको छ । जाडो छल्न आउने चराले आरक्ष क्षेत्रमै बच्चा कोरल्ने गरेका छन् । किसानले खेतबारीमा हालेको विषका कारण मरेका किरा, फट्याङ्ग्रा खाँदा चराको प्रजनन क्षमता कमजोर हुँदै गएको र चराको सङ्ख्या घट्दो क्रममा रहेको स्थानीय चराका जानकार अनिश तिम्सिना बताउनुहुन्छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र चराको राजधानीका रूपमा परिचित भए पनि पछिल्लो समय आरक्ष क्षेत्रमा भएका ठुला सिमसार क्षेत्र, ताल र साना खोल्सा बाढीले पुरिँदा र सुक्दै जाँदा चराको वासस्थान घट्दै गएको छ । जलमा निर्भर रहने चराको वासस्थान घट्दै गएसँगै चराको सङ्ख्या घट्दै गएको बताइएको छ । कोशी पन्छी समाजले आरक्ष क्षेत्रको कोशी नदी, कोशीटप्पुको भागलपुर, कोशी ब्यारेज र बर्जुतालमा चराका विज्ञ टोलीले पाँच दिनसम्म गणना गर्ने कोशी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताउनुभयो ।