नेपालगन्ज समाचारदाता
नेपालगन्ज, पुस २८ गते । शीतलहर सुरु भएर अत्यधिक चिसो बढेका बेला बाँकेको राप्तीपारि नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वाटर वागेश्वरी गण अन्तर्गत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशन अनुसार सीमामा पैदल गस्ती सुरु गरिएको जनाउँदै नरैनापुरको घोरदौरिया सीमास्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भसम्म पुगेर दैनिक रूपमा अनुगमन गरिँदै आएको बताउनुभयो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर वागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । उहाँले पैदल गस्तीमा सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिँदै आएको बताउनुभयो ।
नरैनापुर–४ को नाका घोरदौरियास्थित सीमास्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेको थियो । भारतसँग जोडिएको नरैनापुर बिओपीले ६३९/२० सीमास्तम्भको आठ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको छ । सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नु परेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिँदै आएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको स्थानीयले जनाएका छन् । प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तर्क्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्य अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन मातहतका निकायलाई निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो ।