दैलेख समाचारदाता
दैलेख, पुस २८ गते । खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार बासिन्दालाई कर्णाली नदीबाट लिफ्टिङ प्रविधिमार्फत पानी खुवाउने कर्णाली लिफ्टिङ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, पाल्तडामा कर्णाली लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु गरेको पाँच वर्ष भइसक्दासमेत बजेट अभावमा उक्त आयोजना अलपत्र परेको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जानकारी दिएको छ । खानेपानी आयोजना निर्माणको काम आर्थिक वर्ष २०७६/७७ बाट सुरु गरिएको थियो । पहिलो वर्ष आयोजना निर्माणका लागि आएको कुल एक करोड ५० लाखमा ठेक्का भई आयोजना निर्माणका लागि सफल निर्माण सेवा जानकी गाउँपालिका–३, बाँकेले लिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा आयोजना निर्माण सम्पन्न गर्न पुनः सङ्घीय सरकार प्रदेश र स्थानीय सरकारको साझेदारीमा चार करोड १६ लाख बजेट विनियोजन भई ठेक्का हुँदा निर्माणको काम नागार्जुन टिडिआर जेभी काठमाडौँले पाएको थियो ।
नगरपालिकाको योजना शाखाका योजना सहायक खगेन्द्रबहादुर शाहीले उक्त खानेपानी आयोजना निर्माण गर्न हालसम्म पाँच करोड ६६ लाख रुपियाँ बजेट खर्च भइसक्दासमेत आयोजना निर्माण हुन नसकेको बताउनुभयो । उहाँले ठेकेदारले काम गर्ने क्रममा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त ससर्त समपूरकको बजेट फ्रिज हुँदा आयोजना निर्माणको कार्य झन् अलपत्र परेको बताउनुभयो । आयोजना निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भए पनि बजेट अभावका कारण आयोजना निर्माण हुन सकेको छैन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर रावलले आयोजना निर्माण भएपछि नगरपालिकाका ५, ६, ७, ८ र ९ को तल्लो भागमा बसोबास गर्दै आएका करिब ११ हजार बासिन्दाको खानेपानी समस्या समाधान हुने भए पनि आयोजना निर्माण नहुँदा खानेपानी समस्या रहेको बताउनुभयो । उहाँले अघिल्लो स्थानीय सरकारले सञ्चालन गरेका कामको अपनत्व अहिलेका स्थानीय सरकारले नलिएका कारण आयोजना बिचमै अलपत्र परेको आरोप लगाउनुभयो ।
उहाँले बजेट माग्ने, विनियोजन गर्ने अधिकार नगरप्रमुखलाई भए पनि नगरप्रमुखले नै आयोजना निर्माणमा चासो नदिँदा करोडौँ खर्च भएको आयोजनाले पूर्णता पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणका लागि खरिद गरिएका एक करोडभन्दा बढीका निर्माण सामग्री हालसम्म गोदाममा थन्किएका छन् । निर्माण सामग्री राखिएको गोदामको भाडा नगरपालिकाले तिर्ने भन्ने सहमति रहेको थियो तर हालसम्म नगरपालिकाले गोदाम भाडासमेत नतिरेको वडाध्यक्ष
रावलको भनाइ छ । नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बजेट अभावका कारण निर्माण हुन नसकेको कर्णाली लिफ्टिङ खानेपानी आयोजनाका लागि १५ औँ नगर सभाबाट ३८ लाख रुपियाँ विनियोजन गरिएको र नपुग रकम प्रदेश र सङ्घीय सरकारसँग माग्ने तयारी गरिएको बताउनुभयो । उहाँले प्राविधिक टोलीसँग समन्वय गर्दा एक करोड लागतमा खानेपानी लयाटी बिन्द्रासैनीमा आउने र त्यहाँ निर्माण गरिएको आरभिटीमार्फत वितरण गर्न सकिने भएपछि नगर सभाले उक्त बजेट विनियोजन गरेको जनाउनुभयो ।
खानेपानी ल्याउन अहिले पनि पालो कुर्नुपर्ने अवस्था भएको भन्दै स्थानीय नगेन्द्र रावलले नगरपालिकाले तत्काल आयोजना निर्माणका लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । आयोजना अहिले लथालिङ्ग छ । निर्माण सामग्री छरपस्ट छन् । कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माणका लागि स्थानीय सरकार चामुण्डाबिन्द्रासैनी नगरपालिका, सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा आयोजना सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७५/७६ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको थियो । उक्त प्रतिवेदनमा आयोजनाको जम्मा लागत १९ करोड ९९ लाख सात हजार ९३५ रुपियाँ लाग्ने अनुमान गरिएको थियो ।