राजकुमार भट्टराई
खोटाङ, पुस २७ गते । खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटार पुल सुनकोसीको बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको हो ।
फोक्सिङटार पुल गत असोज १२ गतेको बाढीले बगाएको थियो । पुल बगाएसँगै तराईका जिल्लासँग खोटाङको सिधा सडक सम्पर्क टुटेको थियो । फोक्सिङटारमा पुलको विकल्पमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राखिएको हो । जडान गरिएको बेलिब्रिज पुस २७ गते कोसी प्रदेशका भौतिक पुर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गर्नुभएको छ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दुरीको बाटो हो । तर फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पुःन फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका छन् ।
फोक्सिङटारमा बेलिब्रिज जडान गर्नका लागि गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले मङ्सिर ११ गते ठेक्का खुलाएको थियो । निर्माण कम्पनी आर्यान कन्स्ट्रक्सन मल्टीपर्पोज कटारीले एक करोड २ लाख ९४ हजारमा ठेक्का लिएर मंसिर २६ गतेदेखि ५० मिटरको बेलिब्रिज राख्ने काम सुरु गरेको थियो ।
फोक्सिङटारमा २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ ब्रिज बनेपछि बेलिब्रिज राख्ने र झिक्नुपर्ने वाध्यता अन्त्या भएको थियो तर दुई वर्ष नवित्दै बाढीले पुल बगाएपछि पुःन अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । फोक्सिङटारमा २०७९ सालमा खोलेर राखिएको बेलिब्रिजलाई नै जडान गरिएको छ । वर्षा याम सुरु भएपछि र नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज खोलेर राखिने कार्यालयले जनाएको छ ।
निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर, पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएको हो ।