• ७ वैशाख २०८२, आइतबार

‘पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते । नेपाल पर्यटन क्षेत्रको विकासका लागि महिलालाई डिजिटल  साक्षरतासहित बलियो सहभागिता विस्तार आवश्यक रहेको औँल्याइएको छ । नेपाल बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको डिजिटल युगमा नेपाली पर्यटनमा महिला विषयक अन्तर्क्रियामा प्रविधिको तीव्र विकाससँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औँल्याइएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा महिला उद्यमशीलता सरकारको प्राथमिकताको विषय रहेको भन्दै  नीति तथा कार्यक्रममार्फत यसलाई स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ग्रामीण क्षेत्रका महिलामाझ डिजिटल साक्षरता विस्तार गरेर पर्यटन विकासलाई दिगो बनाउन सकिने औँल्याउनुभयो । उहाँले सरकार निजी क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवर्धन गर्न अग्रसर भइरहेको पनि बताउनुभयो । 

कार्यक्रममा योजना आयोगकी सदस्य गीताकुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलालाई सशक्तीकरण गर्नुपर्ने बताउनुभयो । १६ औँ पञ्चवर्षीय योजनामा पर्यटन र प्रविधिको संयोजनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।उहाँले नीति निर्माण गर्दा महिलालाई प्राथमिकतामा राखेर उनीहरूको वित्तीय पहुँच पनि स्थापित गर्दै जान आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाको सङ्ख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला सहभागिता छ । यसलाई गुणस्तरीय बनाउन उहाँहरूलाई विभिन्‍न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने आवश्यकता छ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सभागिता सङ्ख्यात्मक हेर्दा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सीमित पाइएको जानकारी दिनुभयो । “पर्यटन क्षेत्रमा महिलाको उपस्थिति ५४ प्रतिशत देखिए पनि उहाँहरू न्यून पारिश्रमिक तहमै सीमित हुनुहुन्छ,” उहाँले भन्नुभयो, “डिजिटल सिप, वित्तीय साक्षरता र ब्रान्डिङका माध्यमबाट महिलालाई नेतृत्वतर्फ लैजानु जरुरी छ ।”

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले महिला पर्यटनकर्मीलाई डिजिटल प्रविधिमा दक्ष बनाउन महिला पर्यटन उद्यमीलाई अनिवार्य डिजिटल तालिम दिनुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने सुझाव दिनुभयो । 

त्यसै गरी बन्‍जी नेपालकी संस्थापक मीना बरालले वित्तीय निर्णयमा पुरुष हाबी हुने गरेको आरोप लगाउनुभयो । “अब महिलालाई आर्थिक आत्मनिर्भरता र प्रविधिमा पहुँच चाहिएको छ,” उहाँले भन्नुभयो । 

मेडिकल पर्यटनमा सक्रिय डा. प्रीति विष्टले यो क्षेत्रबाट मात्रै वार्षिक दुई करोड अमेरिकी डलरको आम्दानी गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयो । “हामीसँग यसका लागि पूर्वाधार र दक्ष जनशक्ति उपलब्ध छ, अब समन्वय र नीति आवश्यक छ ।”